राजनीति

भिम रावललाई बालेनको जवाफ : तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन

इकागज |
मंसिर १६, २०७९ शुक्रबार २०:४३ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन'ले नेकपा एमालेका नेता भीम रावलले उठाएका विषयकाे खण्डन गरेका छन् ।

रावलको फेसबुक स्टाटसमा कमेन्ट गर्दै बालेनले आफूलाई अमेरिकी राजदूतले भेट्न आग्रह गरेकाले भेटेको बताएका छन् । उनले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आफूलाई भेट्न आएपछि राजदूत डीन थम्पसनसँग भेटेको बताएका हुन् ।


बालेनले लेखेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरू उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’

भेटका क्रममा महानगरलाई आर्थिक सहयोगका लागि आएको प्रस्ताव अस्वीकार गरेको समेत बालेनले उल्लेख गरेका छन् । ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ ।’

त्यस्तै, एमसीसीमार्फत उत्पादन भएको विद्युत् विदेशीलाई बेच्नेभन्दा पनि नेपालमै त्यसको प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्ने आफूले धारणा राखेको बालेनले बताएका छन् । उनले लेखेका छन्, ‘एमसीसी मार्फत विद्युत् विदेशीलाई बेच्नेभन्दा पनि त्यो विद्युत् नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’

एमाले नेता रावलले बालेनले बिहीबार अमेरिकी राजदूत थम्पसनसँग भेट्दा परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेटेको हो कि होइन भनेर प्रश्न गरेका थिए ।

 

 

 


Author

थप समाचार
x