राजनीति

जनक शिक्षाका प्रबन्ध निर्देशकको राजीनामा माग गर्दै अनेरास्ववियुको प्रदर्शन

इकागज |
माघ १८, २०७९ बुधबार १२:५१ बजे

काठमाडौँ - जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशकको राजीनामा माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ । जनक शिक्षाका प्रबन्ध निर्देशकका कारण संस्थान धरासयी भएको भन्दै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले भक्तपुरस्थित केन्द्रमा पुगेर प्रदर्शन गरेका हुन् । 

उनीहरूले केन्द्रमा भएको भ्रष्टाचार छानबिन गर्न माग गरेका छन् भने विद्यार्थीहरूलाई पाठ्यपुस्तक समयमा नै उपलव्ध गराउनुपर्ने भन्दै नाराबाजी गरेका थिए । 


प्रदर्शनका क्रममा उनीहरूले केन्द्रको गेटको ताला फोडेर भित्र प्रवेश गरेपछि प्रहरीले बलपूर्वक बाहिर निकालेको थियो । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले केन्द्रको प्रबन्ध निर्देशकले कमिसनको लोभमा पाठ्यपुस्तक छपाउने जिम्मा निजी क्षेत्रलाई दिने कामको विरोध गरिएको बताए । उनले भ्रष्टाचारमा मुछिएकाहरूलाई सरकारले कारबाही नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

भ्रष्टाचारीहरूलाई कुनै पनि संस्थानको जिम्मेवारी नदिन सरकारको ध्यानाकर्षण गराउने उनले बताए । अनेरास्ववियुले केन्द्रको व्यवस्थापन ले नै समयमा नै पाठ्यपुस्तक नपठाएको आरोप लगाएको छ । 


Author

थप समाचार
x