राजनीति

स्ववियु निर्वाचन : ताला नखुल्दा निर्वाचनको काम ठप्प

धनबहादुर गुरुङ |
फागुन २६, २०७९ शुक्रबार २२:३ बजे

पोखरा- स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सम्मुखमा पोखराको पृथ्वीनारायण क्याम्पसको निर्वाचन कार्यालयमा ताला लागेको छ । कर्मचारीले सूचना चुहाएको भन्दै पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यालयमा केही विद्यार्थी संगठनहरूले बिहीबार तालाबन्दी गरेका थिए ।

अखिल क्रान्तिकारी पिएनका अध्यक्ष काशिराम पौडेल, अखिल क्रान्तिकारी अध्यक्ष सचिन पौडेल, विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष विवेक अधिकारी र अखिल क्रान्तिकारी संयुक्तका अध्यक्ष गगन परियारले हस्ताक्षर गरिएको विज्ञप्ति टाँसेर दुई बुँदे माग राख्दै तालाबन्दी गरेका हुन् ।


बिहीबार लागेको ताला शुक्रबार दिनभर पनि नखुल्दा निर्वाचन प्रक्रियामा समस्या भएको पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचन समिति सदस्यसचिव बोधराज ढकालले बताए । उनका अनुसार बिहीबार मतदाता नामावली माथि दावी विरोध र शुक्रबार अन्तिम नामावली प्रकाशन गर्ने तयारी थियो ।

वार्ताका लागि बोलाउँदा पनि ताला लगाउने विद्यार्थी संगठन उपस्थित नहुँदा ताला खोल्न नसकिएको उनले बताए । ‘बिहान र दिउँसो वार्ताका लागि प्रयास गर्दा पनि आउनुभएन,’ उनले भने, ‘ताला लगाउनेहरू आउनुभएको छैन । तर, ताला लगाउने बाहेककाले भने वार्ता गरौैं कुरा मिल्छ भन्नुभएको छ ।’ तालाबन्दीले निर्वाचनको काम विथालिएको ढकालले जानकारी दिए । ‘हाम्रो त माइन्युटदेखि सम्पूर्ण कागजात भित्रै छन्,’ उनले भने, ‘हामीसँग डकुमेन्ट केही छैन । हामीले मोवाईलमा विषय लेखेर छलफल अघि बढाएका छौं ।’ निर्वाचन कमिटी चुनाव गराउन प्रतिवद्ध रहेको उनले बताए । यसका लागि विद्यार्थी र विद्यार्थी संगठन तयार रहनुपर्ने उनले सुनाए ।

ताला खोल्नका लागि प्रशासन र निर्वाचन मण्डल लागि परिरहेको छ । ‘उहाँहरू सहमतिमा आएर ताला खोल्नुभयो भने थोरै निर्वाचन तालिका फेरबदल गरेर भएपनि अघि बढ्न सक्छौं,’ उनले भने, ‘उम्मेद्वारी दर्ताको काम त १÷२ गते सम्म पनि गर्न सकिन्छ ।’ पृथ्वीनारायण क्याम्पसमा प्रारम्भिक १० हजार ८ सय ७० विद्यार्थी संख्या रहेको उनले बताए ।

यता, अखिल क्रान्तिकारीबाट स्ववियु निर्वाचनमा सभापतीका उम्मेद्वार बसन्त भट्टचनले ताला खोल्नका लागि सहमतिमा जानुपर्ने बताए । ‘मतदाता नामावली हुने ठेगाना र नम्बर सबै विद्यार्थी संगठनलाई दिनुपर्‍यो भन्ने हाम्रो माग हो,’ उनले भने, ‘शुक्रबार ताला खोल्नका लागि निर्वाचन कमिटी र क्याम्पस प्रशासन बस्ने भन्ने कुरा थियो । उहाँहरूले समय लाग्ने भयो भनेर बैठक स्थगित गर्नुभयो ।’ आफूहरू भने सम्पर्कमै रहेको र सहमति गरेर ताला खोलेर निर्वाचन प्रक्रिया अघि बढाउने पक्षमा रहेको उनले बताए । ‘हामी निर्वाचनको पक्षमा छौं कुनै पनि हालतमा निर्वाचन हुनुपर्छ,’ उनले भने । 


Author

थप समाचार
x