राजनीति

प्रदेश र स्थानीय तहलाई अधिकार नदिएसम्म संघीयता कार्यान्वयन हुँदैन : राष्ट्रपति पौडेल

सुभाष कर्ण |
असोज ८, २०८० सोमबार १७:२२ बजे

जनकपुरधाम- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियताको मूलजडो मधेशमा रहेको कुरा सिंहदरबारमा बस्नेहरूले बुझ्नुपर्ने बताएका छन् । सोमबार महेन्द्रनारायण निधि मिथिला सँस्कृति केन्द्र भवनको उद्घाटन गर्दै उनले देशकाे एक-एक इन्च भूमि मधेशी जनताले जोगाएर राष्ट्रियता देखाएको कुरा सिंहदरबारमा बस्ने शासकहरूले बुझ्नु पर्ने आवश्यकता रहेको बताए । 

प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रपति पौडेलले भने, 'देशमा संघीयता आएको ८ वर्ष बित्न लाग्दा पनि संघीय शासकहरूले अधिकार दिनबाट कन्जुस्याइँ गरेको कारण कार्यान्वयनमा आउन सकेको छैन । जबसम्म स्थानीय तह र प्रदेश दुवैलाई संविधान अनुरूप अधिकार बाँडफाँट गरिँदैन तबसम्म संघीयता कार्यान्वयनमा आउन सक्दैन ।'​


खासगरी देशका मुख्य तीन शासकहरू प्रचण्ड, देउवा र केपी ओलीलाई बोलाएर सम्झाउँदै गरेको जिकिर गर्दै राष्ट्रपति पौडेलले भने, 'यहाँबाट गएर भन्छु हेर्नुस् तपाईंहरूले अधिकार दिनमा गरेको कन्जुस्याइँ नगर्नुस् तपाईंहरूले चाहेमा संघीयता कार्यान्वयनमा आई देश समृद्धि र विकासतर्फ उन्मुख हुनेछ यो अठोट गर्नुस् ।'

साथै उनले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा आफूलाई खुसी लागेको समेत बताए । उनले भने, 'यसले मधेसमा वर्षौंदेखि व्याप्त रहेको समस्या समाधान भएको र यसले सामाजिक न्याय र कानुनी राज्यको समेत अनुभूति गराएको छ ।' 

राष्ट्रपति पौडेलले मधेसलाई कृषिको आधार भूमि बनाउन सकिने भनाइ राखे । उनले पहाडको जल र तराईको अन्न नेपालको समृद्धिको आधार बन्न सकिने बताए । यस्तै उनले मधेसमा देखिएको कृषि र सिँचाइको समस्यालाई समाधान गर्नका लागि आफूले वर्षौंदेखि आवाज उठाउँदै आएको पनि उल्लेख गरे । उनले भने, 'म पदमा जाँदा सिँचाइको केही समस्या समाधान भएको थियो, अब थप समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।'

उनले आफू शान्ति मन्त्री हुँदा मधेस आन्दोलनका क्रममा २२ बुँदे सहमति गरेको स्मरण गर्दै यसले संविधान निर्माणको आधार भूमि खडा गरेको कुरामा जोड दिँदै मधेसमा देखिएको सामाजिक न्याय र संघीयाता लोकतन्त्रलाई समृद्ध बनाउनुपर्ने सम्बोधनको खाँचो रहेको भने ।

कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई अधिकार नदिइएको कारण संघीयता अहिलेसम्म कार्यान्वयनमा आउन नसकेको आरोप लगाए । उनले प्रदेशलाई प्रशासन र निजामतीको अधिकार नदिई संघीय सरकारले आफ्नै मातहतमा राखेको कारण काम गर्न समस्या भइरहेको भन्दै ८ वर्ष बित्न लाग्दा पनि संघीयता कार्यान्वयनमा आएका नसकेको महसुस गरेको बताए । 

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गरेको थियो । उपमहानगरपालिका मेयर मनोज साहले उनलाई नागरिक अभिनन्दनसहित मायाको चिनो दिएर स्वागत समेत गरेका थिए । यस्तै प्रतिनिधि सभा सदस्य जुली महतो र मुख्यमन्त्री सरोजकुमार यादव समेतले उनलाई मायाको चिनो दिई सम्मान गरेका थिए । यसअघि बिहान जानकी मन्दिरमा राष्ट्रपति पौडेलले विशेष पूजा अर्चना गरेका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x