राजनीति

लुम्बिनी प्रदेशसभा : संसदीय समितिको निर्वाचन पुनःस्थगन

इकागज |
पुस १५, २०८० आइतबार २०:५६ बजे

​लुम्बिनी- लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन पुन : स्थगित भएको छ । सभामुख तुलारामको घर्तीको निर्देशनअनुसार अर्को सूचना जारी नभएसम्मका लागि विशेष कारण देखाउँदै आज जारी गरिएको सूचनामा निर्वाचन स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् ।

सभामुख घर्तीको अध्यक्षतामा अघिल्लो साता बसेको कार्यव्यवस्था परामर्श समितिको आठौँ बैठकले यही पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तय गरेको थियो । तर, प्रदेशसभा सचिव पुनले आज जारी गरेको सूचनामा प्रदेशसभा कार्यव्यवस्था समितिको यही १७ पुसमा तोकिएको समितिका सभापतिको निर्वाचन स्थगित भएको जानकारी गराएका छन् । 


प्रदेशसभा सचिव पुनले समितिको निर्वाचनका लागि आवश्यक तयारी हुन नसकेका कारण एक सातालाई सार्न सभामुख घर्तीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रमुख विपक्षी दलका नेता लिला गिरीले अनुरोध गरेकाले सभामुखको निर्देशनमा स्थगित गरिएको जानकारी दिए ।

प्रदेशसभामा प्रमुख विपक्षी दल नेकपा ( एमाले ) प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले प्रदेशसभामा समितिको नेतृत्व नहुँदा संसदीय प्रक्रियाका अधिकांश काम प्रभावित भएकाले आफूहरूले नेतृत्वको टुङ्गो लगाउन पहिलेदेखि नै माग राखे पनि सत्ता गठबन्धनकै कारण रोकिएको बताए । उनले समितिको नेतृत्वका लागि मितिसमेत तोकेर अन्तिम समयमा स्थगित गरिएकामा असन्तुष्टि जनाए ।

प्रदेशसभामा नेपाली कांग्रेस प्रमुख सचेतक जन्मजय तिमल्सिनाले समितिको निर्वाचनका लागि मिति तोकेर अन्तिम अवस्थामा स्थगित हुनाका कारण आफूले बुझिनसकेको बताए । उनले निर्वाचनको तयारीका लागि प्रदेश राजधानी जाँदै गर्दा मुख्यमन्त्रीले हाललाई सभामुखसँग सल्लाह गरेर निर्वाचन स्थगित भएको जानकारी दिएपछि मात्र आफूले जानकारी पाएको बताए ।

प्रदेशसभा निर्वाचन भएको एक वर्षभन्दा बढी भइसके पनि लुम्बिनी प्रदेशका संसदीय समिति अझै नेतृत्वविहीन छन् । लुम्बिनीमा अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन, सार्वजनिक लेखा, भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास र कृषि वन तथा वातावरण समिति छन् । प्रदेशसभाको ६ समितिमा लेखासहित दुईवटा समितिको सभापति प्रमुख प्रतिपक्षी दल एमालेलाई दिने र बाँकी सत्ता गठबन्धनले लिने विषयमा छलफल भएको छ । यद्यपि सत्तारूढ गठबन्धनभित्र कसले कुन समितिको नेतृत्व लिने भन्ने टुङ्गो लागेको छैन ।

प्रदेशसभाले गत असार ३० गते ६  विषयगत समितिका सदस्य चयन गरेको थियो । तर, समितिका सभापति चयन नहुँदा समिति कामविहीन बनेका छन् । प्रदेशसभा सचिवालयका अनुसार अहिलेसम्म प्रदेशसभा सामाजिक विकास समितिको बैठकले स्वास्थ्यसम्बन्धी विधेयक छलफल गरेर संसदमा पठाएको र प्रदेश मामिला तथा कानुन समिति र अर्थ, उद्योग तथा पर्यटन समितिले ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक बसेका थिए । प्रदेशसभा नियमावली २०७९ मा सभापति चयन नहुँदासम्म ज्येष्ठ सदस्यले बैठकको सभापतित्व गर्ने व्यवस्था गरेको छ ।


Author

थप समाचार
x