राजनीति

संसदबाट नभ्याए अध्यादेशबाट दर्जन कानुन संशोधन गर्छौं : अर्थमन्त्री पुन

इकागज |
चैत २४, २०८० शनिबार २१:११ बजे

वीरगन्ज- अर्थमन्त्री वर्षमान पुन 'अनन्त' ले लगानी सम्मेलनका लागि सरकारले अध्यादेशबाट भए पनि ऐन संशोधन गर्ने बताएका छन् ।

शनिबार वीरगन्जमा आयोजना गरेको वीरगन्जको वैभव अन्तर्गत अर्थमन्त्रीलाई प्रश्नैप्रश्न शीर्षकको कार्यक्रममा उनले यस्तो बताएका हुन् । भरसक संसदबाटै र समय अभावले नभ्याइने भए अध्यादेशबाटै लगानी संकुचन गर्ने ठानिएका दर्जन कानुन अध्यादेशमार्फत संशोधन गरिने मन्त्री पुनको भनाइ थियो ।


त्यसका लागि राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति कायम गरिने उनले बताए । 'भरसक संसदबाट र सकिएन भने राजनीतिक सहमतिका आधारमा अध्यादेशबाट कानुन संशोधन गर्छौं । लगानी सम्मेलनमार्फत लगानी आउने वातावरण बनाउँछौं,' मन्त्री पुनले भने ।

तेस्रो लगानी सम्मेलन आगामी १६ र १७ चैतमा हुँदैछ । आन्तरिक लगानीका लागि पनि सरकारले व्यवसायीलाई प्रोत्साहन गरिने मन्त्री पुनको भनाइ थियो । निराशालाई आशामा बदल्ने प्रतिबद्धतासहित विश्वासको वातावरण निर्माण गर्न सकिन्छ भन्ने सोचका साथ आफू १२ वर्षपछि मन्त्रालयमा आएको उल्लेख गरे ।

विदेशी मुद्राको सञ्चिति बढेको, महंगी घटेको, बिप्रेशन आप्रवाह बढेकाले अर्थतन्त्रको बाह्य अवस्था सुदृढ भएको बताए । आफू जिम्मेवारीमा आएपछि ७० अर्ब बजारमा पठाएको, दायित्व भुक्तानी दिन सुरु गरिएको भन्दै बजार चलायमान हुने विश्वास व्यक्त गरे । फरक प्रसंगमा अर्थमन्त्रीले निजी क्षेत्र र बजारलाई आतंकित गर्ने नीति सरकारको नरहेको स्पष्ट गरे ।


Author

थप समाचार
x