राजनीति

सुदूरपश्चिममा अन्योल, एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन गृहकार्य !

इकागज |
बैशाख ४, २०८१ मंगलबार १४:४ बजे

धनगढी- सुदूरपश्चिममा नयाँ सरकार निर्माणबारे अन्योलता बढेको छ । आइतबार प्रदेश प्रमुख नाजिर मियाँले दिएको समयभित्र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेपनि अहिलेसम्म प्रदेश प्रमुखले निर्णय लिएका छैनन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालको मंगलबार बिहान बालुवाटरमा भएको छलफलपछि नयाँ विकल्पमा जाने सम्भावना पनि बढेको छ ।


सोहि अनुसार सुदूरपश्चिमका एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाका केहि सांसदहरूले छलफल गरेको बुझिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिएर अगाडि बढ्ने विकल्पको बारेमा छलफल गरेका छन् ।

नाउपाका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेको अवस्थामा एकीकृत समाजवादीलाई कसरी मुख्यमन्त्री दिन सकिन्छ भन्ने कानुनी पाटोबारे अहिले छलफल भइरहेको बुझिएको छ । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा पनि नेता खनालले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिएमा सबै समस्याको हल हुने बताएका थिए । 

स्रोतका अनुसार प्रदेश प्रमुखले दुवै दाबीलाई रद्द गरेर नयाँ आव्हान गर्न सक्ने बताइएको छ । तर यसका लागि प्रदेश प्रमुखले दिने कानुनी आधारले प्रदेशको राजनीति अदालती झमेलामा जान सक्नेसमेत विश्लेषण शुरु भएको छ ।

आइतबार गरिएको दाबीमा लक्ष्मणकिशोरले कांग्रेससहित २८ सांसदको समर्थन पश गरेका छन् भने कैलाश चौधरीले २३ सांसदको समर्थन सूची पेश गरेका छन् ।


Author

थप समाचार
x