राजनीति

कोभिड महामारीमा मन्त्रीहरू कार्यकर्ता बटुल्दै, कार्यक्रम गर्दै

आफै बनाएको स्वास्थ्य मापदण्डको छैन वास्ता

सुभाष कर्ण |
असार ६, २०७८ आइतबार ९:५१ बजे

जनकपुरधाम : कोभिड १९ संक्रमणलाई दृष्टिगत गर्दै सरकारले करीब डेढ महिनादेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवधिमा घरबाट निस्किन, बजार पसल व्यवसाय सञ्चालन गर्न प्रतिबन्ध छ ।

यातायात सञ्चालन र भीडभाड हुने खालका सभा सम्मेलन गर्न रोक लगाइएको छ । तर सरकारकै मन्त्रीहरु स्वास्थ्य मापदण्डको उल्लंघन गर्दै  यतिबेला जिल्ला दौडमा छन् । 


मन्त्रीहरुले आ-आफ्ना गृह जिल्लामा कानून र आफ्नै निर्देशनलाई लत्याउँदै सयौँको भीडभाड गरि कार्यकर्ता भेला र विभिन्न शिलान्यास लगायतका कार्यक्रमहरू गर्दै आएका छन । 

निषेधाज्ञा उल्लंघन गरेमा कारबाही गर्ने निकाय प्रहरी प्रशासनले सरकारी निर्देशनलाई बेवास्ता गर्ने मन्त्रीहरूको कार्यक्रममा सुरक्षा दिई भीडभाड जम्मा गराउँदै आएका छन ।

करीब एक सातादेखि नेपाल सरकारका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी, संस्कृति पर्यटन मन्त्री उमाशंकर अरगरिया, प्रदेश २ का प्रदेश प्रमुख राजेश झा अहिराज र मुख्यमन्त्री लालबाबु राउत सहित भीआइपीहरुले निषेधाज्ञा उल्लंघन गर्दै भीडभाड जम्मा गरि जनकपुरधाम सहित धनुषाको विभिन्न स्थानमा स्वागत समारोह, कार्यकर्ता भेला, शिलान्यास र उदघाटन लगायतका कार्यक्रम आयोजना गर्दै आएका छन् ।

महासेठले जेठ २९ गतेदेखि असार १ गतेसम्म लगातार ४ दिनसम्म जनकपुर, सबैला ईनरवा, मिथिला बिहारी सहितका ठाउंमा स्वागत समारोहदेखि शिलान्याससम्मका कार्यक्रम गरेका छन ।

मन्त्री अरगरियाले पनि जनकपुरमा विमानस्थल निरिक्षणदेखि गाउँगाउँमा कार्यकर्ता भेलासम्मको कार्यक्रमसहित सयौँको भीडभाड गरी शिलान्यास कार्यक्रमहरू गरेका छन् ।

उनले यदुकोहा नगरपालिकामा दलित दलानको शिलान्यास सहित सोही नगरपालिकाका विभिन्न वडामा कार्यकर्ता भेला तथा स्वागत कार्यक्रम गरेका छन् ।

त्यस्तै प्रदेश प्रमुख झाले निकै तामझामका साथ मुखियापट्टी मुसहरनियामा पोखरीमा डुबेर मृत्यु भएकी बालिकाहरूको परिवारलाई राहत वितरण लगायका कार्यक्रम गरेका छन् । 

मन्त्री चौधरीले महोतरीको मटिहानीमा स्वागत समारोहको नाममा कार्यकर्ता भेला गरेकी छन् । मटिहानी नगरपालिकाद्वारा आयोजित सो कार्यक्रममा सहभागी सयौँ कार्यकर्ताहरूले नगर भ्रमण समेत गरेका छन् । 

यता मुख्यमन्त्री राउतले समेत सयौँको संख्यामा भीडभाड गरि अक्सिजन ग्यास प्लान्ट र कोभिड अस्पतालको उद्घाटन लगायतका कार्यक्रम गरेका छन् । जसले कोडिभ १९ संक्रमण झन् बढेको छ । जोखिम बढेको छ । 

यस्तो बेला आफैँ भीडभाड गदैै हिड्ने मन्त्री भने आवश्यक मापदण्ड पालना गर्दैनन् । यसबारे जिज्ञासा राख्दा मन्त्रीद्वय अरगरिया र महासेठले बोल्न चाहेनन् । 

उता प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाह बास्तोलाले आफू कर्मचारी भएकाले मन्त्रीको आदेश मान्नुपर्ने बाध्यता रहेको सुनाए । ‘म नेपाल सरकारको कर्मचारी हुँ, सरकार चलाउने मन्त्रीज्युहरूले अह्राएको निर्देशन मान्नै पर्ने बाध्यता हो ।’

मन्त्रीहरूले गर्दै आएको निषेधाज्ञा उल्लंघनको सर्वसाधारणले आलोचना गर्न थालेका छन । कोभिडले जनता मरिरहने, तर नेताहरु कोभिड सार्दै हिड्ने गरेको भन्दै नागरिकले आलोचना गर्न थालेका हुन् । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x