राजनीति

लुम्बिनीमा विपक्षी दलद्वारा संसद् बैठक बहिष्कार

इकागज |
असार ६, २०७८ आइतबार १५:४३ बजे

बुटवल : लुम्बिनी प्रदेश सरकारले भर्खरै ल्याएको बजेटमाथि छलफल आजबाट सुरु हुने भनिए पनि विपक्षी दलले बहिष्कार गरेका छन् । जसका कारण लुम्बिनी प्रदेश सभाको वैठक एक घण्टाको लागि स्थगित भएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बैठक हुनासाथ सरकारले बहुमत गुमाएको भन्दै तानाशाही ढंगले सरकार चलेका कारण छलफलमा बस्न नसकिने बताए । उनले सरकारका क्रियाकलाप र प्रदेश प्रमुखको समेत अनेक खालका अवैधानिक क्रियाकलाप सार्वजनिक भइरहेको भन्दै सरकारलाई सहयोग गर्न सकिने ठाउँ नभएको जिकिर गरे ।


उनले विधि विधान पद्धति मिचेर प्रदेश सरकारअघि बढेको भन्दै अब त्यो सहेर नबस्ने बताए ।  नेकपा माओवादी केन्द्रका नेता सुदर्शन बरालले मुख्यमन्त्रीले आफूलाई सदनमा वैधानिकता पुष्टि गर्न माग गरेको बताए । उनले भने ‘मुख्यमन्त्री संविधानको कुन धाराबाट बनेको भन्ने पुष्टि नगर्दासम्म संसद्का गतिविधि बन्द रहन्छन् ।’ 

उनले संसदलाई सधैँ अनिश्चितताको भुमरीमा धेरै दिन राख्न नहुने बताए । दलबीच छलफल गरेरअघि बढ्ने संसद् सचिवालयको तयारी छ । 


Author

थप समाचार
x