राजनीति

विमला वली सार्वजनिक हुँदै : 'अपहरण शैली'मा सरकारी पक्षले बन्धक बनाएकै हो त ?

इकागज |
साउन २१, २०७८ बिहीबार ९:५४ बजे

फाइल तस्बिर

बुटवल- एक हप्तादेखि सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली आज पत्रकार सम्मेलन गरी सार्वजनिक हुने बताएकी छिन् । उनी निकट स्रोतका अनुसार वली माओवादी केन्द्रमै रहेको र आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी रहेको छ । उनले दिउँसो पत्रकार सम्मेलन गरेर सबै कुरा राख्‍ने माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए ।

दाङ क्षेत्र नं. ३ को ‘ख’बाट निर्वाचित वली गएको साउन १५ गते माओवादी पार्टिको सम्पर्कविहीन भएकी थिइन् । सम्पर्कभन्दा बाहिर रहेपछि उनलाई पार्टीले खोजी कार्य जारी राखेको थियो । एमालेका लुम्बिनी प्रदेश सभाका सचेतक भूमेश्वर ढकाल र नेता मानबहादुर रावतले उनलाई लगेको स्रोतको दाबी छ । उनले यो कुरा अझै व्यक्त गरेकी छैनन् । ढकालको गाडीमा उनलाई नेपालगञ्‍ज लैजाने भनी तुल्सिपुरबाट हिँडाएको भए पनि सिधै मुख्यमन्त्री कार्यालयमा लगिएको भनि आफूहरूसँग भनेको माओवादी केन्द्रका एक प्रदेश सांसदले बताए ।


वलीको मोबाइलको लोकेसन पनि १५ गतेदेखि नै मुख्यमन्त्री कार्यालय वरिपरि देखाएको भन्दै अपहरणको शैलीमा उनलाई लगिएको प्रदेश सांसद दामाकुमारी शर्माको दाबी छ । उनको नाममा सोमबार विज्ञप्ति जारी गरी  एमालेमा प्रवेश गरेको खबर बाहिर ल्याइएको थियो । २०७६ मंसिरमा भएको उपनिर्वाचनमा उनले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट जितेकी थिइन् ।

त्यसपछि अदालतले दुई पार्टी एकताभन्दा पहिलेकै अवस्थामा पुगेको भनी फैसला गरेपछि उनले गएको वैशाख १९ गते बुटवलमा पत्रकार सम्मेलन गरी माओवादी केन्द्र रोजेकी थिइन् । उनका श्रीमान् उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधनपछि सोही स्थानमा विमलालाई उम्मेद्‌वार बनाइएको हो । लुम्बिनीमा नयाँ प्रदेश प्रमुख आएपछि सरकार परिवर्तनको चर्चा चलिरहेको छ । मंगलबार मात्रै विपक्ष गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । 


Author

थप समाचार
x