राजनीति

गण्डकी प्रदेश

मुख्यमन्त्री २५ लाख ऋणमा, कति छ गण्डकीका मन्त्रीहरूको सम्पत्ति ?

अनिष भट्टराई |
भदौ ९, २०७८ बुधबार १४:५१ बजे

पोखरा -  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेभसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । मन्त्रिपरिषदका ११ सदस्यमध्ये ९ जनाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । खेलकुद मन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाको सम्पत्ति सार्वजनिक भएको छैन । 

सार्वजनिक विवरण अनुसार मुख्यमन्त्री पोखरेलसँग ५ तोला सुन छ । मुख्यमन्त्री पोखरेलकी श्रीमती लता पोखरेलको नाममा चितवनको गैँडाकोटमा २० लाख रुपैयाँको घर छ । उनको काठमाडौं र तनहुँमा जग्गा छ । ती जग्गा किन्दा बैंकको कर्जाबाट किनेको मुख्यमन्त्री पोखरेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा छ । तलबबापतको ५ लाख रुपैयाँ एभरेस्ट बैंक लिमिटेमा मौज्दात छ । उनले २५ लाख रुपैयाँ ऋण लिएका छन् । २०७६ मा कृषि विकास बैंकबाट ऋण लिएको मुख्यमन्त्रीले देखाएका छन् । 


अर्थमन्त्री रामजीप्रसाद बरालले आफूसँग ४ तोला सुन रहेको खुलाएका छन् । उनको एभरेस्ट बैंकमा ३ लाख नगद मौज्दात रहेको छ । उनको सम्पत्ति विवरण अनुसार उनले छोरा बुहारीका नाममा २ मोटरसाइकल र १ स्कुटर खरिद गरेका छन् । ६० हजारको गाइ र ६० कित्ता निफ्राको शेयर रहेको उल्लेख छ । श्रीमती बुद्धिमाया बराल र उनको नाममा कास्कीका २ ठाउँमा जग्गा छ । मन्त्री बरालले हालै १ करोड रुपैयाँको ऋण लिएको देखाएका छन् । २०७७ मा उनले एनआईसी एसिया बैंक लिमिटेडबाट १ करोडको ऋण लिएको सम्पत्ति विवरणमा उल्लेख छ । 

भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले स्वआर्जन र पैतृक सम्पत्तिबाट पोखरा १६ मा ३८२ वर्गमिटरमा फैलिएको घर जोडेको खुलाएका छन् । खड्कासँग १ करोडबढी नगद मौज्दात, ५६ लाखको शेयर, ९५ तोला सुन छ । खड्काले ८५ लाख ऋण दिएका छन् । 

कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आफ्नो नाममा पोखराका ६ ठाउँमा घर र ८ ठाउँमा जग्गा देखाएका छन् । उनीसँग १० करोड नगद मौज्दात, ५५ हजार रुपैयाँ घरमा रहेको, ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हिरा छ । परिवारभर ७ लाख ५० हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा जनाइएको छ । मन्त्री थापासँग २ गाडी, होटल, ट्रेड हाउस, मल, रिसोर्टमा लगानी छ । 

पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलकी श्रीमती इन्द्रकली कँडेलको नाममा बागलुङमा ४८ लाख ५० हजारमा खरिद गरेको घर छ । उनकी श्रीमती र उनको नाममा लेखानी, चितवन, रुपन्देहीमा जग्गा छ । ऋणबाट जग्गा किनेको र केही सम्पत्ति विक्रीबाट आर्जेको उनको सम्पत्ति विवरणमा देखाइएको छ । उनले बागलुङ नरेठाँटीमा ८ लाख ४० हजार, चितवनको कुमरोजमा ३६ लाख, रुपन्देहीको पडसरीमा ५७ लाख ३५ हजार र चितवनको कुमरोजमै २७ लाख ३५ हजार रुपैयाँ ऋण लिएर जग्गा किनेको देखाएका छन् । उनीसँग २५ तोला सुन र १ किलो चाँदी छ ।  उनले आफूसँग ८७ हजार कित्ता शेयर देखाएका छन् । उनको सम्पत्ति विवरण अनुसार उनी २ करोड ६७ लाख रुपैयाँ ऋणमा छन् । 

शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठसँग १५ लाख नगद छ । उनको नाममा स्याङ्जाको भिरकोट र काठमाडौं नागार्जुनमा पक्की घर छ । उनीसँग १९ तोला सुन, २ तोला चाँदी र १ थान हिराको आँठी छ । उनको काठमाडौं र स्याङ्जाको ६ ठाउँमा जग्गा छ । शिक्षामन्त्री श्रेष्ठको ८ कम्पनीमा शेयर छ भने ती शेयर प्राप्तिको स्रोत भने उल्लेख गरेका छैनन् । उनले सिटिजन्स बैंकबाट ७ करोड ९० लाख रुपैयाँ ऋण लिएका छन् । उनको नाममा ४५ लाख रुपैयाँमा किनेको एउटा कार र श्रीमतीको नाममा किनेको २ स्कुटर छन् । 

माओवादीबाट वनमन्त्री बनेका दीपक थापा मगरको नाममा विरुवा गाउँपालिका २, स्याङ्जामा ५० हजार रुपैयाँमा किनेको घर छ । उनले पोखरा महानगरपालिका १४ मा ४० लाखको जग्गा किनेका छन् । यसको स्रोत तलबभत्ता, छोराको व्यवसाय र रेमिट्यान्स भएको जनाइएको छ । मन्त्री थापाको सम्पत्ति विवरण अनुसार उनीसँग ३० तोला सुन र २० तोला चाँदी छ । उनले ६१ लाख ५० हजार ऋणमा रहेको पनि देखाएका छन् । 

जनता समाजवादीका सांसद तथा ऊर्जामन्त्री हरिशरण आचार्यसँग ८ तोला सुन र ५ तोला चाँदी छ । उनका बुबा र श्रीमतीको नाममा गोरखामा घरजग्गा छ । उनले ५० लाख ऋण बंैंकबाट लिएर २० लाखमा आमुल फर्निचर उद्योग चलाएका छन् । लिएको ऋणमध्ये १० लाख तिरिसकेको उल्लेख मन्त्री आचार्यले गरेका छन् । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङको नाममा लमजुङ दूधपोखरीमा घर छ । लमजुङमा घरसहित जग्गा, चितवनको कविलास र मकवानपुरमा जग्गा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।  उनीसँग ३ तोला सुन र ३ बैंकमा ८ लाख ६० हजार नगद मौज्दात छ ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x