राजनीति

केपी ओली र एमसीसीका प्रतिनिधिबीच भेटवार्ता

एमसीसीकी उपाध्यक्ष सुमारले भनिन् : यो अनुदान हो, केही विवाद नगरौँ

ओलीले भने  ः म सरकारमा हुँदा सभामुखले अघि बढाउन दिएनन्

इकागज |
भदौ २४, २०७८ बिहीबार १६:२३ बजे

काठमाडौँ – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ ।  

ओलीलाई भेट्न एमसीसीका प्रतिनिधिहरु बालकोट पुगेका थिए । भेटमा एमसीसी उपाध्यक्ष सुमारले एमसीसीकाबारेमा एमालेको बुझ्न खोजेकी थिइन् । एमसीसी अनुदानको विषय भएकाले यसमा विवाद हुनुनपर्ने सुमारको भनाइ थियो । भेटपछि एमसीसी उपाध्यक्ष सुमारले संक्षिप्त प्रतिक्रिया दिदै नेपालमा आउदा खुसी लागेको प्रतिक्रिया दिइन् ।


त्यस्तै एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईले एमसीसीका प्रतिनिधिले एमालेको पोजिसनका बारेमा जानकारी लिएको बताए । ओलीले भेटघाटका लागि धन्यवाद दिँदै एमसीसी सम्झौताका बारेमा आफ्नो नेतृत्वको सरकारले अघि बढाए पनि अहिले प्रतिपक्षमा रहेको बताएको भट्टराईले जानकारी दिए । ओलीले आफूले सरकारको नेतृत्व गर्दा सभामुखसहितका केही व्यक्तिले एमसीसीलाई अघि बढ्न नदिएको बताउँदै अहिले सरकारले एमालेसँग यसबारे कुनै परामर्श नगरेको राखे ।  

बिहीबार नै नेपाल आएको एमसीसी प्रतिनिधि मण्डलले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेतासँग भेट गर्ने कार्यक्रम छ । त्यस्तै शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट हुने बताइएको छ ।  नेपालको चारदिने भ्रमणका लागि बिहीबार एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेको हो ।  

 


Author

थप समाचार
x