राजनीति

एमालको स्थायी कमिटी बैठकमा विधानमाथि छलफल

इकागज |
असोज ३, २०७८ आइतबार २१:५८ बजे

काठमाडौँ – नेकपा एमालेको विधान महाधिवेशनमा पेस गरिने तीन वटा प्रतिवेदनमाथि छलफल सुरु भएको छ । ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेस गरिने राजनीतिक, विधान संशोधनसम्बन्धी र सांगठानिक प्रतिवेदनमाथि छलफल भएको स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

१५–१७ असोजमा आयोजना हुन गइरहेको विधान महाधिवेशनमा पेश गरिने प्रतिवेदनहरूमाथि आइतबार स्थायी कमिटी सदस्यहरू अमृत बोहरा, पुष्प कँडेल, केशव बडाल, घनश्याम भुसाल र युवराज ज्ञवालीले धारणा राखेका थिए । सोमबार दिउँसो १ बजे सोही भवनमा बस्ने बैठकमा थप सदस्यबाट सुझाव लिइने र आवश्यक सुझाव समेटेर प्रतिवेदन परिमार्जन गरी ८ र ९ असोजमा बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने भट्टराईले जानकारी दिए ।


राजनीतिक प्रतिवेदनमा पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीको कार्यदिशाको मूल्यांकन गरिएको बताइएको छ । त्यस्तै नवौं महाधिवेशनदेखि आजसम्म आइपुग्दा संगठनात्मकरूपमा प्राप्त गरेका उपलब्धी, कमिकमजोरी र प्राप्त शिक्षाबारे सांगठानिक प्रतिवेदनमा उल्लेख गरिएको उनले जानकारी दिए । यस्तै विधान संशोधनसम्बन्धी प्रतिवदेनमा भने नेपालको संघीय संरचनाअनुसार पार्टी कमिटी गठन र पदाधिकारीको संख्या र जिम्मेवारीबारे विधान संशोधनका विषय समेटिएको उनको भनाइ छ । केन्द्रीय कमिटीबाट आएका सुझावलाई पनि समेटेर विधान महाधिवेशनमा प्रतिवेदन पेस हुने उनको भनाइ छ ।


Author

थप समाचार
x