राजनीति

कर्णालीकी एक्ली कांंग्रेस सभापति भन्छिन् :

'पहिले परिचय दिन डराउँथे, अहिले पालिका चलाउँछु'

लक्ष्मी भण्डारी |
असोज १५, २०७८ शुक्रबार १७:३० बजे

सुर्खेत– नेपाली कांग्रेसको १४ औँ अधिवेशनमा कर्णाली प्रदेशमा एक मात्र महिला सभापति निर्वाचित भइन् । सल्यानको छत्रेश्वरी गाउँपालिकाकी सीता केसी पालिका सभापति बन्न सफल भएकी हुन् । प्रदेशका ७९ वटा पालिकामध्ये एउटा पालिकामा मात्र महिला सभापति निर्वाचित बनेकी छन् । छत्रेश्वरी गाउँपालिकाको सभापतिमा केसीले प्रतिद्वन्द्वी टेकबहादुर बिष्टलाई पराजित गरेकी हुन् । मतदानमा केसीले ६१ मत ल्याइन् भने बिष्टले ४२ मत प्राप्त गरे । 

नवनिर्वाचित सभापति केसीले सभापति हुन आफैँले संघर्ष गरेको बताइन् । महिला सफल हुन स्वयं आफू नै अघि सर्नुपर्ने बताउँछिन् । ‘कुनै पनि कुरामा सफल हुन महिला आफैँ अघि सर्नुपर्छ’ उनी भन्छिन्, ‘अरुले बनाइदेलान् र होला भनी बस्ने होइन आफ्नो अधिकारका लागि आफैँ लड्ने हो ।’


पार्टीसमक्ष आफ्नो सभापति बन्ने चाहना व्यक्त गरेपछि सफल भएको उनको भनाई छ । ‘निर्वाचन हुँदा मैले आफ्नो कुरा पार्टीमा राखे । म महिला हुँ र मैले पार्टीलाई योगदान पनि दिँदै आएकी छु मेरो चाहना सभापति बन्ने हो भनेर राखेपछि पार्टी नेतृत्वबाट पनि स्वीकार भयो’ उनी भन्छिन्, ‘आफ्नो विषयमा निर्धक्क्सँग कुरा राखेपछि चुनावमा लडे र सफलता हासिल गरे ।’

विद्यार्थी हुँदादेखि नै राजनीतिमा होमिएकी केसी २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् । उनका बुबा तुल्सीराम भण्डारी २०४८ मा कांग्रेसबाट गाविस उपाध्यक्ष बनेका थिए । ‘हाम्रो घरको वातावरणले पनि सानैदेखि राजनीति बुझ्न र यसमा लाग्न सहयोग पुगेको थियो’ उनले भनिन्, ‘राजनीति गरेर अघि बढ्ने प्रयत्न गरिरहेकी छु ।’

कांग्रेसको १३ औं महाधिवेशनमा साविक दमाचौर गाविसबाट क्षेत्रीय प्रतिनिधि चयन भएकी उनी जिल्ला सदस्य पदमा पनि निर्वाचित भएकी थिइन् । कलिलो उमेरमा विवाह गरेकी उनले पढाईलाई विवाहपछि पनि निरन्तरता दिइन् । २०६४ मा एसएलसी उत्तीर्ण भएकी उनले गाउँकै विद्यालयबाट कक्षा १२ को पढाइ सकेकी छन् । छोरा छोरी र घरपरिवार सम्हाल्दै गर्दा पनि उनी समाजसेवा र राजनीतिक काममा उत्तिकै सक्रिय हुन्थिन् ।

‘मनमा आँट भयो भने काममा सपल भइदो रहेछ’ उनी भन्छिन्, ‘म पनि पहिला परिचय दिन डराउँथे, अब गाउँपालिका चलाइरहेकी छु ।’
 


Author

थप समाचार
x