राजनीति

सधैंका सांसद विरोध खतिवडा स्वास्थ्यमन्त्री

इकागज |
असोज २२, २०७८ शुक्रबार १५:४७ बजे

काठमाडौँ - २०४८ सालदेखि निरन्तर प्रतिनिधि सभा निर्वाचित बन्दै आएका विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । कांग्रेस सभापति शेरबहादुर नेतृत्वको गठबन्धनको सरकारमा नेकपा (एकीकृत समाजवादी)कातर्फबाट उनी स्वास्थ्यमन्त्री बनेका हुन् । 

कानुन व्यवसायको पृष्ठभूमिका खतिवडाले स्वास्थ्य क्षेत्रमा नेतृत्वदायी भूमिकामा बसेर अनुभव लिइसकेका छन् । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य जनसंख्या तथा श्रम समिति सभापति भएका थिए । गत वर्ष आफ्नै पार्टी (तत्कालीन नेकपा) सत्ता हुँदा स्वास्थ्य सामग्री खरिद घोटा प्रकरणबारे सार्वजनिक लेखा समितिका सदस्यका रुपमा खतिवडाले अनियमितताबारे चर्को बहस गरेर चर्चामा आएका थिए । 


खतिवडालाई कोभिड-१९ को महामारी नियन्त्रणमा नआइसकेको अवस्था र पर्याप्त मात्रामा कोभिड-१९ विरुद्धको खोप लगाउने, स्वास्थ्य क्षेत्रको विकृति जस्ता विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने हुन्छ । खरो भाषण गर्ने र स्पष्ट वक्ताका रुपमा ख्याती पाएका खतिवडालाई स्वास्थ्यमन्त्रीको भूमिका भने चुनौतिपूर्ण छ ।

को हुन् खतिवडा ?

६१ वर्षिया विरोध खतिवडा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४मा जन्मिएका हुन् । उनले कानुनमा स्नातकसम्म गरेका छन् । मकवानपुर २ बाट संसद्‌मा प्रत्यक्ष प्रणालीबाट निर्वाचित भएका हुन् । 

२०३५ सालमा अनेरास्ववियु काठमाडौँ जिल्लाको अध्यक्षबाट राजनीति सुरु गरेका हुन् । २०३७ देखि २०४० सम्म अनेरास्ववियु केन्द्रीय सदस्य कम्युनिस्ट पार्टीमा आबद्ध भए ।  २०३५ देखि विद्यार्थी र पार्टी फाँटमा सक्रिय नेकपा (एमाले) को लेखा आयोगको सदस्य, उद्योग विभागको सदस्य भएर काम गरे । २०७५ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत भए । उनी २०४८, २०५१ र २०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा समेत खतिवडा निर्वाचित भए । 

राजनीतिक घटनाक्रम पञ्चायतविरुद्धको राजनीतिक आन्दोलन र राजतन्त्रविरुद्धको आन्दोलनका क्रममा १२ पटक गरी जेल र हिरासतमा बसेका थिए । उनी बार एसोसिएसनको सदस्य समेत हुन् । करिब तीन दशकदेखि संसदीय राजनीतिको अनुभव संगालेका उनी पृथक प्रस्तुतिका कारण फरक पहिचान बनाउन सफल विधायक हुन् । संसदीय राजनीतिमा अनुभवी विधायकका रूपमा उनलाई चिनिन्छ ।


Author

थप समाचार
x