राजनीति

मुम्बईबाट दिल्ली आइपुगे दाहाल

शनिबार साँझ स्वदेश आइपुग्‍ने

चन्द्रशेखर अधिकारी |
पुस २४, २०७७ शुक्रबार १९:४९ बजे

काठमाडौँ : पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचार प्रक्रिया अघि बढाएर शनिबार स्वदेश फर्कने भएका छन् । उनी चार दिनदेखि मुम्बईमा छन् । उनले श्रीमतीको हेरविचारका लागि छोरीहरू गंगा र रेणुलाई त्यहाँ छोडेर शनिबार दिल्लीबाट काठमाडौं फर्कन लागेका हुन् । उनी स्वदेश फर्कने क्रममा शुक्रबार साँझ नै दिल्ली आइपुगेका छन् भने शनिबार काठमाडौँ आइपुग्नेछन् । 

उनी एअरपोर्ट नजिकको होटलमा दिल्लीमा आइसिटी मौर्यमा रहनेछन् भने त्यहाँ उनी सामान्य राजनीतिक भेटघाटहरूमा सरिक हुने बताइएको छ । यद्यपि उनले मुम्बईमा रहँदा राजनीतिक भेटघाट नगरेको भनिए पनि उनलाई महाराष्ट्रका राज्यपाल भगतसिँह कोश्यारी र केही अन्य पुराना नेताहरूले अनौपचारिक भेट गरेका थिए । कतिपयले अस्पतालमा पुगेर दाहाल पत्नी सीताको स्वास्थ्य लाभको कामना समेत गरेका थिए । अनौपचारिक भेटवार्तामात्र भएको हो तर दाहालको भारतका नेताहरूसँग पुरानो सम्बन्ध रहेकाले स्वास्थ्यलाभको कामना गर्न गर्न आएका नेताहरूसँग भेटघाट भएको हो । 


उनी दिल्ली आउनेबारेमा बाह्रखम्बा स्थित नेपाली दूतावास पनि जानकार छ । राजदूत नीलाम्बर आचार्यले पूर्वप्रधानमन्त्री दाहालसँग पटक–पटक फोनमा छलफल गरिरहेका छन् । दाहाललाई दूतावासले आवश्यक लजिस्टिक सपोर्ट पनि गर्ने र दूतावासमा भवनमा राख्ने भनिए पनि उनी धेरै समय नरहने भन्दै एअरपोर्ट नजिकै रहन रुचाएको दूतावास स्रोतले बतायो । राजनीतिक भेटवार्ताको विषयमा भने कुनै जानकारी दूतावासलाई दिइएको छैन । 

कुनै औपचारिक भेटवार्ता यो समयमा नभएको दाहालको सचिवालयले जनाएको छ । नेकपा दाहाल–नेपाल खेमाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि राजनीतिक भेटघाट नहुने बताएका थिए । ‘नेपालको राजनीतिक अवस्था यस्तो भद्रगोल बनाइएको छ । यो समयमा भारतीय नेता वा कर्मचारीलाई भेट्दा फरक सन्देश जाने हुनाले कुनै भेटघाट नगर्ने सहमति भएको छ,’ श्रेष्ठले भने, ‘उहाँले भेटवार्ता गर्नुहुने छैन । अस्पतालमा पुगेको थाहा पाएर स्वास्थ्यलाभको कामना गर्न आउने कुरालाई राजनीतिक रूपमा लिन सकिँदैन ।’  अध्यक्ष दाहाल शनिबार काठमाडौँ आउनु हुनेछ भन्दै श्रेष्ठले भने, ‘उहाँले त्यहाँ कोही पुराना मित्रले स्वास्थ्यलाभको कामना गर्नसक्नुहुनेछ । तर मेरो जानकारीमा रहेसम्म कुनै राजनीतिक भेटघाट गर्नुहुने छैन ।’ 

भारतको केन्द्र सरकार र भारतीय जनता पार्टी (बीजेपी) ले यो समयमा दाहाललाई दिल्ली वा मुम्बाईमा कही पनि राजनीतिक भेट नगर्न मतहतमा कडा सर्कुलर गरेको एक उच्च अधिकारीले जानकारी दिए । दाहाल पनि यो समयमा राजनीतिक भेटघाट गर्ने मुडमा छैनन् । सायद यही भएर उनी सबै समय अस्पतालमा बिताएका थिए । उनले आफँैँ श्रीमतीको स्याहार समेत गरे । खुवाउने बेडमा लैजाने सहज–असहज हेर्ने जस्ता कार्यमा व्यस्त रहेको उनको पारिवारिक स्रोतले बतायो ।

मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा उनले औषधी खुवाउनेदेखि खाना खुवाउनेसम्मका काम गरेको गरेको दाहालसँगै गएका सदस्यले बताए । ‘काठमाडौँमा पनि समय भएसम्म पत्नी सीताको स्यहारसुसार गर्ने गरेका थिए । तर यहाँ रहँदा कार्यकर्ताको माझमा रहने, नेतृत्वले घेर्ने र दिनहुँ छलफलमा रहने गरेका थिए,’ एक सदस्यले भने, ‘केही निश्चित व्यक्तिहरुसँग टेलिफोन सम्पर्क रहने बाहेक अन्य उच्च स्तरीय भेटघाट भएन ।’

पछिल्लो समय पारिवार र मुलुकको राजनीतिको दोहोरो चेपमा परेका उनी धर्मपत्नी सीतालाई यस्तो अवस्थामा एक्लै छाड्न पनि गाह्रो । अनि मुलुकको राजनीतिक अवस्थामा उनको उपस्थिति पनि आवश्यक रहेकाले पनि उनी निकै पीडामा छन् । लामो समयदेखि उपचारार्थ रहेकी सीतालाई झन् अहसज भएपछि सोमबार मुम्बई लगिएको हो । सीताका साथमा दाहालको अलवा छोरीहरू रेणु र गंगा सहभागी थिए ।

दाहाल पत्नी सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यहाँ उनलाई कन्सलट्यान्ट न्यूरो सर्जन डा. आलोक शर्माको टोलीले उपचार गराई रहेका छन् । उनको उपचार प्रक्रिया अघि बढेकाले दाहाल भने शनिबार आउन लागेका हुन् । यद्यपि बीचमा पुनः दाहाल मुम्बई जान सक्नेछन् । उनी मुम्बई गएसँगै कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको खेमाको चलखेलबारे उनी जानकार त छन् तर नजिकबाट नियाल्न र प्रतिवाद गर्न असहज भएको छ ।

उनी खासमा पत्नी सीतालाई मुम्बई पुर्‍याएर उपचार सुरु भएपछि भोलिपल्ट फर्कने योजना थियो । भनेजस्तो सहज नभएर उनी तीन दिन बढि रहन परेका हो । उनले यसअघि श्रीमतीको थाइल्याण्ड, सिंगापुर, अमेरिकामा उपचार गराइसकेका छन् । दिल्लीमा पनि पटक–पटक उपचार गराइएको थियो । स्वास्थ्य समस्या बढेपछि यसपटक भने मुम्बई रोजिएको हो । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x