राजनीति

गैरसांसदलाई मन्त्री बनाउने निर्णयले माओवादीमा चर्काे असन्तुष्टि

लक्ष्मी भण्डारी |
माघ २१, २०७८ शुक्रबार १९:२१ बजे

सुर्खेत – कर्णाली प्रदेशमा गैरसांसदलाई मन्त्री बनाउन खोजेपछि नेकपा माओवादी केन्द्रमा असन्तुष्टि देखिएको छ। जीवनबहादुर शाही नेतृत्वको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रले गणेशप्रसाद सिंह र छिरिङ दमदोल लामा (कार्चेन)लाई मन्त्री बनाउने तयारी गरेको छ । हुम्लाका माओवादी नेता लामालाई उनको पार्टीले कर्णाली सरकारको मन्त्री बनाउने तयारी गरेकाे हाे । कार्चेन र सिंहलाई मन्त्री बनाउने निर्णय भएको माओवादी केन्द्र स्रोतले जनाएको छ । 

सिंह जाजरकोटका प्रदेश सभा सदस्य हुन् भने हुम्लाका लामा गैरसांसद हुन् । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका अनुसार कार्चेनलाई ६ महिने मन्त्री बन्नका लागि सिफारिस गरिएको छ । संविधानमा गैरसांसद पनि ६ महिना मन्त्री बन्न पाउने व्यवस्था छ ।  


कानुनी छिद्रबाट माओवादीले निर्वाचित प्रदेश सभा सदस्यहरूलाई बेवास्ता गर्दै फौजदारी आभियोगमा जेल सजाय भोगिसकेका कार्चेनलाई मन्त्री बनाउन लागेकाे हाे ।कार्चेनलाई  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा पार्टीको प्रदेश कमिटी र प्रदेश सभा संसदीय दलले मन्त्रीको लागि सिफारिस गरेपछि उक्त पार्टीका सांसदहरूले चर्को असन्तुष्टि जनाएका छन् ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले समाजिक सञ्जालमार्फत सांसद नभएकालाई मन्त्री बनाउनु संसद् र जनताको अपमान भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्,' पहिला पहिला बुढापाखाले भन्थे कासी जानु कुतिको बाटो नसमाउनु बाबु । आज यही चरीतार्थ भएको छ माओवादी संसदीय दल कर्णाली प्रदेशमा।'

उक्त निर्णय सच्याउन संसदीय दल पार्टी प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई उनले आग्रहसमेत गरेका छन् । उनले आग्रह गर्दै भनेका छन्, ‘गैरसांसदलाई मन्त्री बनाउँदा क्षमतावान सांसदको मानमर्दन र यसले प्रदेशमा विकृति र बेथिति मौलाउने छ ।’

गैरसांसदलाई मन्त्री बनाउँदा गलत नजीर बस्ने उनकाे भनाइ छ। उनी भन्छन्, ‘अब बाँकी रहेका सांसदबाट मन्त्री बन्ने त छोडौं, बचेका हामी सांसदले राजीनामा दिएर उहाँहरुलाई मन्त्री बनाउन मार्गप्रशस्त गर्नुपर्ने अवस्था प्रस्ताव भोलिका दिनमा आउनसक्छ।’ नेता विष्टले यो निर्णयलाई माओवादी आन्दोलनमाथिको कलंक भएको बताए । 

सत्तारुढ माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लागेपछि आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । ‘मन्त्रालयको भागवन्‍डा करिब-करिब मिलिसकेको छ । आज नाम आए आइतबार सरकारले पूर्णता पाउँछ,’ मुख्यमन्त्री जीवनबहादुर शाहीले भने । हाल कर्णाली प्रदेशमा माओवादी केन्द्रका १२ सांसद् छन् । तीमध्ये पाँच जना मन्त्री बन्न बाँकी छन् । अन्य सांसदहरू यसअघिका मन्त्रिपरिषद्‌मा सहभागी भइसकेका छन् । 


Author

थप समाचार
x