राजनीति

प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावले गठबन्धनमा कुनै असर पर्नेछैन : दाहाल

सुभाष कर्ण |
फागुन १, २०७८ आइतबार १८:१९ बजे

जनकपुरधाम - सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश विरुद्धकाे महाअभियोग प्रस्ताव दर्ताले गठबन्धन नफुट्ने दाबी गरेका छन । 

आइतबार मधेश प्रदेश सरकारले आयोजना गरेको जनयुद्ध दिवस कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका बेला सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनको सहमतिकै आधारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरिएको हुनाले गठबन्धनमा कुनै असर नपुग्ने बताए । 


अध्यक्ष दाहालले न्यायालय क्षेत्रलाई लामो समयसम्म अन्यौलग्रस्त अवस्थामा राख्न नहुने भएकाले त्यसलाई निकास दिन गठबन्धनका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीसँगको आम सहमतिमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाइएकोले गठबन्धनमा कुनै असर नपुग्ने बताए । 

सञ्चारकर्मीहरुको जिज्ञासामा उनले भने, 'महाभियोगको कारण गठबन्धन फुट्दैन बरु झन मजबूत नै हुन्छ’, न्यायको क्षेत्रमा केही समयदेखि अन्योल, अराजकता र देखा परेका बेथिति एउटा स्वतन्त्र न्यायलय, राज्य र जनताको लागि दु:खद स्थिति थियो, बार अधिवक्ता र न्यायाधीशहरुबाट आन्दोलन हुनु विचित्रको अवस्था आएपछि त्यसलाई चिर्न गबठन्धनको सहमतिमै हामीले त्यसलाई किनारा लगाउने प्रयास तहत प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका हौं ।'

अध्यक्ष दाहालले स्वतन्त्र न्यायालयमा बारका पदाधिकारी तथा सदस्यद्वारा विरोध लगायतका विचित्र अवस्था आएर न्यायलय नै बन्धक पर्ने अवस्था आएपछि सहज निकासको कुनै अरु व्यवस्था नदेखिएपछि गठबन्धनले यो कदम चालेको बताए । 

उनले भने, ’न्यायालयमा देखिएको बेथिती र समस्याको हामीले सहज ढंगले निकास निकालोस भन्ने आशमा थियौं, सहज निकास दिन सबैलाई अपिल पनि गर्‍यौं, कुनै निकास ननिस्केपछि विवादको प्रमुख जिम्मेवार प्रधानन्यायाधीशलाई अरु न्यायाधीशलाई पनि विश्वासमा लिएर काम गर्न भन्यौं तर आफूहरुले चाहेअनुसारको सुधार न्यायलयमा नआएपछि महाअभियोगको बाटो राजेका हौं ।'


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x