राजनीति

ओलीविरुद्ध आन्दोलनमा जान देउवाको आलटाल, पौडेलको जोडबल

सन्तोष अधिकारी |
माघ १३, २०७७ मंगलबार १८:२५ बजे

काठमाडौँ :  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध तीन दिने आन्दोलनको घोषणा गरेको छ । कांग्रेसले मंगलबारको केन्द्रीय समितिको बैठकबाट आन्दोलनमा जाने निर्णय त्यति सजिलै गरेको भने होइन । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहबीच सोमबार र मंगलबार दुई चरणको छलफल भएपछि मात्रै आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णयमा पुगेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोधमा उत्रिन सभापति देउवाले त्यति जाँगर देखाएका छैनन् । कांग्रेसले घोषणा गरेको यो तेस्राे चरणको आन्दोलन हो । यसअघिका दुई चरणका आन्दोलन गर्ने निर्णय गर्दा जस्तै यो पटक पनि पौडेल समूहले देउवालाई मनाउन जाेडबल लगाउन पर्‍यो ।  


‘हिजो देखि आजसम्मको छलफलले कांग्रेस केपी ओली प्रवृत्तिविरुद्ध उत्रिने निर्णय भइसक्यो,' पौडेल समूहका एक केन्द्रीय सदस्यले इकागजसँग भने, ‘भित्र के-के भयो भन्‍नेतिर अब नजाँदा नै बेस हुन्छ । किन भने पार्टीले आन्दोलनमा जाने निर्णय नै गरिसक्यो । तथापी सभापतिज्यू अदालतको फैसला कुर्नुपर्छ भनेर आन्दोलनबाट पन्छिन खोजिरहनु भएको भने पक्कै हो ।’ 

गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेसँगै कांग्रेस आन्दोलित बनेको थियो । पटक-पटक आन्दोलनमा जानु अघि देउवा ओलीको कदमविरुद्ध नरम रूपमै प्रस्तुत भएका छन् । तर, उनले ओलीले अलोकतान्त्रिक कदम चालेको भने भन्‍न छोडेका छैनन् ।  

मंगलबारको केन्द्रीय समिति बैठक दिउँसो एक बजे बस्‍ने तय भए पनि सभापति देउवा र नेता पौडेलबीच सडक आन्दोलनमा जाने विषयमा सहमति नजुट्दा करिब दुई घण्टापछि मात्रै सुरु भयो । ‘रामचन्द्र दाइले जसरी पनि आन्दोलनमा जाउँ । संविधान जोगाएर मात्र अरु कुरा गरौँला भन्‍ने अडान नछोडेपछि सभापतिज्यूले आन्दोलनमा जान सहमति जनाउनु भयो’ स्रोतले भन्यो ।  

दुई नेताबीच आन्दोलनमा जाने सहमति जुटेपछि केन्द्रीय समितिले त्यसलाई अनुमोदन गरेको हो । देउवाले आन्दोलनमा जान सहमति जनाएपछि नेता पौडेल आफ्नो कार्यकक्षमा प्रवेश गरेर आफू निकटकाहरूसँग छलफल गरेका थिए । उनले देउवासँग भएको छलफलको बारेमा संक्षिप्त ब्रिफिङ गरेका थिए । 

अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टी भित्र जे-जस्तो भए पनि निर्णयलाई नै आधिकारीक मान्‍न आग्रह गरे । ‘पार्टीभित्र वर्तमान राजनीतिक घटनालाई कस्ले कसरी लिइरहेको छ, को-कसरी प्रस्तुत भइरहेको छ त्यो छर्लङ्गै छ,’ आन्दोलनमा जान देउवाले अटेर गरेको संकेत गर्दै घिमिरेले भने, ‘निर्णय भएपछि समग्र पार्टी आन्दोलनमा जान तयार छ भनेर बुझौँ । भित्रि आयाम के छ त्यो त थाहा छँदैछ ।’  

संस्थापन पक्षका सहमहामन्त्री डा.प्रकाशशरण महत सभापति देउवा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध सधैँ उत्रिरहेको बताउँछन् । बैठकमा कुनै विवाद नभएको दाबी गर्दै महतले भने, ‘आजको बैठकमा कुनै विवाद भएन । निर्णय गरेर विज्ञप्ती आइसकेपछि बैठकमा के-के विषयमा कुरा भयो भन्‍नेले के अर्थ राख्छ र ?’ 

बैठकबाट कांग्रेसले माघ १९ गते भ्रातृ संस्थाले, २४ गते शुभेच्छुक संस्थाले र  ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेसले यसअघि  जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा स्तरमा समेत आन्दोलन गरिसकेको छ । त्यस्तै नागरिक समाजमाथि भएको प्रहरी दमन र संवैधानिक इजलासमा बहस गर्ने वरिष्ठ अधिवक्तामाथि प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति कांग्रेसले खेद व्यक्त गरेको छ ।  

 त्यस्तै पार्टीको १४ औँ महाधिवेशनको तयारीको वितरण भएको क्रियाशील सदस्यता तथा नवीकरणको फाराम माग मसान्तसम्म केन्द्रमा पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिने निर्णय पनि आजको बैठकले गरेको छ । त्यस्तै म्याद सकिएका नेविसंघ, तरुण दल र महिला संघलगायतका भ्रातृसस्थाको म्याद थप गर्ने निर्णय बैठकले गरेको छ ।  


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x