राजनीति

दाहाल भन्छन्– ‘केपी ओली सडकमा पनि एक तिहाइको फुच्चे'

नवराज पनेरु |
माघ १७, २०७७ शनिबार १६:१४ बजे

धनगढी : नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फुच्चे बनाइदिएकोमा नागरिकलाई धन्यवाद दिएका छन् । शनिबार धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

 ‘केन्द्रीय समिति र स्थायी समितिमा त केपी ओली एक तिहाइ पनि थिएनन्, सडकमा पनि केपी ओलीलाई एक तिहाइको फुच्चे बनाएको धन्यवाद,’ उनले भने ।


त्यस्तै दाहालले पूर्वी नेपालमा आयोजित विरोधसभा भन्दा पनि धनगढीमा विशाल उपस्थिति देखिएकोले ओली सडकमा पनि फुच्चे सावित भएको बताए । उनले प्रतिनिधि सभा विघटन नभएको बताउँदै केपी सरकार मात्रै भंग भएको बताए ।

‘यो मुद्धा सर्वोच्च अदालतमा छ,’ उनले भने, ‘अदालतले संविधान हेरेर निर्णय लिन्छ भन्ने विश्वास छ, अदालतमा मुद्धा नभएको भए संसद् बोलाएर केपी ओलीलाई कारवाही गर्ने थियौँ ।’

तीन महिनाभित्रै केपी ओलीलाई परास्त गर्दै संविधानको संरक्षण गर्नेसमेत दाहालले दावी गरे । माधव नेपालसँग लोकतन्त्र र प्रजातन्त्रका लागि सहकार्य गरेको झण्डै ४० वर्ष भएको र आफूहरुको सम्बन्ध नयाँ नभएको उनले स्पष्ट पारे । दाहालले सशस्त्र संघर्षका क्रममा पनि नेपालमा गणतन्त्र स्थापनाका लागि माधव नेपाल र आफूबीच सहकार्य भएको बताए ।

दाहालले तीन वर्षअघि ओलीसंग नेकपासंगको गठबन्धन र एकताको प्रस्ताव आफूले लगेको तर उनी सकारात्मक नभएको बताए । उनले भने, ‘पछि प्रधानमन्त्री बनाउछु भनेपछि मात्र ओली सकारात्मक भए, त्यसपछि मात्रै पार्टी एकिकरण भयो ।’

बामदेव गौतम पनि छिट्टै आफ्नो समूहमा आउँन लागेकोसमेत दाहालले बताए । उनले भने, ‘हिजो बामदेवसँग कुरा भयो, मैले हामीलेसँगै भाषण गर्नु पर्ने होईन र ? भनेर साधेँ, उहाँले छिट्टै आउँछु भन्नुभएको छ ।’


Author

थप समाचार
x