राजनीति

प्रतिबन्धित नेकपासँग निरन्तर अनौपचारिक वार्तामा सरकार

खानेपानीमन्त्री थापा नेतृत्वको टोलीसँग कुरा मिलेपछि औपचारिक वार्ता गरिने

मधुसुधन भट्टराई |
फागुन ९, २०७७ आइतबार २१:१५ बजे

काठमाडौँ : सरकारले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपासँग अनौपचारिक वार्ता गरिरहेको छ । स्रोतका अनुसार खानेपानीमन्त्री मणि थापा संयोजकत्वको टोलीले नेकपाका प्रतिनिधिहरूसँग अनौपचारिक वार्ता गरिरहेको हो । 

‘चन्द नेतृत्वको प्रतिबन्धित नेकपासँग खानेपानीमन्त्री मणि थापा नेतृत्वको टोलीले अनौपचारिक वार्ता गरिरहेको छ । आज पनि वार्ता भयो । कुरा सकारात्मक भएको छ,’ स्रोतले भन्यो ।


सरकारले अनौपचारिक रूपमा कुरा मिलेपछि औपचारिक रूपमा कार्यदल बनाएर वार्ता गर्ने तयारी गरेको छ । ‘अनौपचारिक रूपमा भइरहेको वार्ता एउटा निचोडमा पुगेपछि औपचारिक रूपमा कार्यदल बनाएर वार्ता हुन्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘भोलि या पर्सिभित्र त्यो काम टुंगिन्छ । सकभर आजै रातिसम्म अनौपचारिक वार्ता निचोडमा पुर्‍याउनेगरी हामी लागिरहेका छौं ।’

यता गृहमन्त्रालय स्रोतले गृहमन्त्री रामबहादुर थापाले पनि प्रतिबन्धित नेकपाका महासचिव चन्दसँग अनौपचारिक रूपमा वार्ता गरिरहेको जानकारी इकागजलाई दिएको छ । चन्द र थापा तत्कालिन माओवादीको सशस्त्र द्वन्द्वको समयमा सहकर्मी पनि हुन् । माथिल्लो स्तरमा महासचिव र गृहमन्त्रीबीच छलफल हुने र अर्को सरकारी पक्षबीच कुरा मिलेपछि टुंगो लाग्ने दुवै पक्षका प्रतिनिधिहरू बताउँछन् । तर, दुवै पक्षको एउटै भनाई छ, ‘हामीले औपचारिक रूपमा टुंग्याएपछि मात्रै औपचारिक रूपमा बताउँछौं ।’

महासचिव चन्दले शनिबारमात्रै विज्ञप्ति निकालेर आफूहरू सरकारसँग वार्ता गर्न तयार रहेको बताएका थिए । 

यता, गृहले प्रधानमन्त्रीलाई सरकार र चन्द नेतृत्वको नेकपासँग वार्ता हुने भएमा आफूहरू दुवै पक्षलाई आवश्यक पर्ने सुरक्षा दिन तयार रहेको बताएको छ । ‘राजनीतिक समस्याको समाधान राजनीतिक तवरबाटै हुने हो । हामी राजनीतिक तवरबाट समस्या समाधान हुन वार्ता हुने भएमा सुरक्षा दिन तयार छौं,’ गृहले प्रधानमन्त्री कार्यालयलाई गराएको जानकारीबारे गृह स्रोतले भन्यो । 

चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले सरकारसँग वार्ताका लागि दुई सर्त राखेको छ । उसले अहिलेसम्म सरकारले पक्राउ गरेका पार्टीका नेता कार्यकर्तालाई छोड्नु पर्ने र पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्नु पर्ने सर्त प्रतिबन्धित नेकपाको छ । सरकारले २०७५ फागुन २८ गते यो पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाउने बेलामा पनि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा नै थिए । 

चन्द नेतृत्वको नेकपाका प्रभावशाली नेताहरू हेमन्तप्रकाश ओली, ध्रमेन्द्र बास्तोलालगायतका नेताहरू अहिलेपनि जेलमा छन् । नख्खु जेलमा रहेका यी दुई नेतामार्फत नै पार्टीसँग वार्ता गर्ने वातावरण निर्माण भएको सरकारी स्रोतहरू बताउँछन् । अहिले अनौपचारिक वार्ताको नेतृत्व गरिरहेका खानेपानीमन्त्री थापाले नख्खु जेलमा पुगेर माघ २० गते भेटेका थिए । त्यसपछि वार्ताको वातावरण बन्दै गएको स्रोतहरू बताउँछन् । 

यता सरकारले नेकपा वार्ताका लागि सरकारात्मक देखिएपछि जेलमा रहेका पार्टीका नेता अनिल शर्मा विरहीलाई रिहा गरेको थियो । उनले पनि दुई पक्षका नेतृत्वबीच वार्ताको वातावरण निर्माण गर्न पुलको भूमिका निर्वाह गर्दै आइरहेको सुरक्षा स्रोतले इकागजलाई बतायो । 

र यो पनि...

अनि, ओलीलाई विप्लव चाहियो !

यसरी बन्यो प्रतिबन्धित नेकपासँग वार्ताको वातावरण

चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले सरकारसँग वार्ता गर्ने

अनुगमनका लागि गएको थिएँ, विप्लवका नेतासँग भेट भयो : मन्त्री थापा


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x