राजनीति

ओलीको प्रतिगमन सच्चियो, तर नेम्वाङ-ज्ञवालीका कुतर्क ?

विष्णु विश्‍वकर्मा |
फागुन १७, २०७७ सोमबार १०:३९ बजे

काठमाडौँ : ‘संसद पुनःस्थापना भएपछि प्रधानमन्त्री रहनुहुन्न । नैतिक रुपमा पनि रहन मिल्दैन’ सर्वोच्च अदालतले फैसला सुनाउनुअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एपी-वान टेलिभिजनसँगको अन्तर्वार्तामा भनेका थिए, ‘नैतिक रुपमा (मोरल्ली) हामी पनि रहदैनौँ ।’ 

रोचक त के भने सर्वोच्चले प्रतिनिधि सभा पुनःस्र्थापनाको पक्षमा फैसला सुनाउने सवाललाई ज्ञवाली ‘काल्पनिक’ मान्थे । एपी-वानका प्रस्तोताले सर्वोच्च अदालतको सम्भावित फैसलाबारे प्रश्न सोध्दा ज्ञवालीले भनेका थिए, ‘हुन त यो असाध्यै काल्पनिक परिस्थितिबारे हामी छलफल गर्दैछौ । र, त्यो स्थिती हुन्न भन्नेमा म विश्वस्त छु ।’


यात्री थप अगाडि प्रतिप्रश्न गर्दै सोध्छन्, ‘यदि संसद पुनःस्थापना भयो भने प्रधानमन्त्रीले राजीनामा दिन्छन् ?’

जवाफमा ज्ञवाली भन्छन्, ‘मोरल्ली प्रधानमन्त्री त्यसपछि रहन मिल्दैन् । हामी पनि रहदैनौँ ।’

ज्ञवालीले काल्पनिक भनेको संसद पुनःस्थापना भयो । सर्वोच्चले ओलीको निर्णय बदर गरिदियो । संसद पुनःस्थापना हुदैन भनेर कल्पना गरेका ज्ञवालीलाई सर्वोच्चले चिसो पानी खन्याईदियो ।

तर अब ज्ञवालीले कुतर्क गर्न छाडेका छैनन् । आफ्नै नैतिक जवाफ बिर्सेका उनी भन्छन्, ‘ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन् ।’

संसद पुनःस्थापना भएमा ओली नैतिक रुपमा प्रधानमन्त्री रहन मिल्दैन भन्थे, ज्ञवाली । आफू पनि मन्त्री रहिरन नैतिकताले नदिने तर्क उनले पेस गरेका थिए ।

ज्ञवालीको त्यो ‘नैतिकता’ शब्द बजार खपतका मात्रै हो कि व्यवहारमा पनि लागू हुन्छ ? आफूलाई ‘बौद्धिक व्यक्तित्व’ र ‘कूटनीतिका मसिहा’का रुपमा प्रस्तुत गर्ने ज्ञवालीले ‘त्यो नैतिकता’ व्यवहारमा परिणत गर्नुको बदला ‘कुतर्क’को खेतीमा लागेका छन् । तर अचेल उनको बोली फेरिएको छ । त्यो अन्तर्वार्ताको ‘नैतिकता’ शब्दले जग हँसाइरहेको छ ।

ओलीको  प्रतिगमनलाई साथ दिएदेखि नै राजनीतिक नैतिकता गुमाउँदै गएका ज्ञवाली राजीनामा त परको कुरा, पद जोगाउन सांसद किनबेच हुन सक्ने वाण हान्दैछन् ।

ज्ञवाली भन्दा एक कदम अगाडि बढेर कुतर्क गर्न तल्लीन छन्, ओलीका अर्का रक्षाकवच सुवासचन्द्र नेम्वाङ । संविधानसभाका तत्कालीन अध्यक्ष नेम्वाङलाई नयाँ संविधानका धारा धारा कण्ठस्थ छन् । आफ्नै नेतृत्वमा जन्माइएको संविधानमा भएको व्यवस्था भुलेका नेम्वाङ प्रतिनिधि सभा मरेको भन्दै सर्वोच्चले ब्युताएकोमा आश्चर्य व्यक्त गर्छन् ।

सर्वोच्चले ओलीको प्रतिगमनलाई सच्याउँदा संविधानको रक्षा भएको उनी ठान्दैनन् । उल्टै नैतिक रुपमा राजीनामा दिन सुझाउनुको साटो ओली शक्तिशाली प्रधानमन्त्री भएको भन्दै कसैले हल्लाउन नसक्ने कुतर्क गर्छन् ।

‘मरेको प्रतिनिधिसभा व्यूँतिएछ’ फागुन १५ गते नेकपा ओली समूहले आयोजना गरेको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेम्वाङले भने, ‘प्रधानमन्त्री ओलीलाई हटाउन ल्याइएको अविश्वासको प्रस्ताव फेल भइसक्यो । अब फेरि एकवर्षसम्म अर्को ल्याउन नपाइने संवैधानिक व्यवस्था छ । अविश्वास प्रस्तावको हरिबिजोक भयो । यसले प्रधानमन्त्रीलाई झन् दह्रो बनायो ।’

सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा विचाराधीन रहँदा नेम्वाङले विराटनगरमा प्रधानमन्त्री ओलीको कदम दुई सय प्रतिशत सही रहेको दाबी गरेका थिए । तर सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गर्दा उनले आफूले दिएको सुझाव प्रधानमन्त्रीले नमानेको जवाफ दिएर पन्छिए ।

त्यसपछि उनको बोली रोकिनु पथ्र्यो । तर रोकिएन । संविधानको पालना गर्नेतर्फ उनको बोली सच्चिनुपथ्र्यो । तर पनि सच्चिएन । उल्टै नैतिक र शासकीय रुपमा पतन हुँदै गएका ओली प्रतिनिधि सभा ब्युतिएपछि झन् शक्तिशाली बनेको दाबी गर्छन् ।

कस्ता थिए, कस्ता भए ?

नेपाली राजनीतिमा सुवासचन्द्र नेम्वाङको छवि निकै पृथक थियो । संविधानसभाको चुनाव भएर सभामुख बनेदेखि नै उनको बोल्ने शैलीको चौतर्फी प्रशंसा हुन्थ्यो । शब्द शब्द तौलेर बोल्ने उनी कसैलाई चिढ्याउँदैन थिए ।

हरेक शब्दमा सम्मानभाव हुन्थ्यो । कसैप्रति आरोप लगाउँदैनथे । कसैप्रति टिप्पणी गर्दा उनी नाम लिँदैनथे । ‘आपत्ति’को ठाउँमा उनी ‘असहमति’ शब्द प्रयोग गर्थे । संविधानमा सहमतिका लागि उनी सधै आफ्नो मध्यस्थकर्ताको भूमिकामा खरो रहे ।

दलहरुबीच सहमति जुटाएर दोस्रो संविधानसभामार्फत् नेपालको संविधान २०७२ पहिलो राष्ट्रपति रामवरण यादवमार्फत जारी गर्न सफल भए । यो नेपाली राजनीतिमा उनले आर्जन गरेको सबैभन्दा ठूलो सम्मान र शक्ति थियो ।

त्यसपछि पनि उनी खासै विवादमा आएनन् । संसदमा धारे हात लगाएर कसैलाई गाली गरेनन् । आफू सभामुख हुन नपाउँदाको रोष प्रकट गरेनन् । कानुनका अब्बल विद्यार्थी नेम्वाङ जति भलाद्मी थिए ।

तर प्रतिनिधि सभा विघटन प्रकरणसँगै उनको राजनीतिक छवि धुलाम्मे बनेको छ । आफैले जन्माएको संविधानको घाँटी निमोठ्ने कदमको साक्षी र सहयोगी बन्न उनलाई कुनै लाज लागेन । कसैले सनकका भरमा संसद विघटन गर्न नपाउने अभिव्यक्ति दिएर संविधानको रक्षाकवच बनेका उनी भक्षक छन् ।

त्यो भन्दा ठूलो कुरा उनी सत्ताको दुर्गन्धित हिलोमा गाँडिएका छन् । यता शालीन, बौद्धिक र तर्कशील नेताको छवि बनाएका प्रदीप ज्ञवालीको साख पनि सिला खोज्नुपर्ने भएको छ ।

घरमा पुस्तकालय खडा गरी सारा संसार पढ्न रुचाउने उनी बौद्धिक छवि बनाएका नेता मानिन्छन् । औपचारिक भन्दा अनौपचारिक अध्ययन अगाडि बढाएका ज्ञवाली स्पष्ट वक्ता र कुनै पनि राजनीतिक घटनाक्रमको तथ्यगत विश्लेषण गर्ने नेतामा चिनिन्थे ।

तर पछिल्लो समय ओली प्रतिगमनको साक्षी बनेका ज्ञवाली नैतिक रुपमा स्खलित छन् । आफ्नै बोलीमा समेत विश्वास नभएका ज्ञवाली जीवनको सबैभन्दा संवेदनशील समयमा ओलीका कुतर्कको पनि बचाउ गर्दै हिँड्न बाध्य छन् ।

उनले औपचारिक रुपमा प्रतिनिधि सभा पुनःस्थापना भएपछि आफ्नो धारणा सार्वजनिक त गरेका छैनन् । तर संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयता विरोधी ओलीका ‘ढाल’ बनिरहेका छन् ।

नेम्वाङले प्रतिनिधि सभा विघटन नगर्न ओलीलाई सुझाव दिँदा नमानेको बताएपनि ज्ञवाली भने चुपचाप छन् । हिजोआज पत्रकारसँग पनि खुलस्त बोल्न डराउने ज्ञवाली यसबारेमा आफ्नो धारणा राख्न तर्किरहन्छन् । नेम्वाङ भने आफूलाई नैतिकतासँग डर नभएको बताउँछन् ।

‘मलाई नैतिकतासँग डर छैन’ इकागजको जिज्ञासामा नेम्वाङले भने, ‘मैले मेरो कुरा स्पष्ट भनिसकेको छु । बाँकी प्रधानमन्त्रीको कुरा हो ।’
 


Author

थप समाचार
x