राजनीति

नेकपा विवाद

प्रदेश-१ का संसदीय दलका उपनेता आङबोहाङले छोडे दाहाल-नेपाल समूह

अन्य ६ जना पनि फर्किए ओली समूहमा

लीलावल्लभ घिमिरे |
फागुन २२, २०७७ शनिबार २०:१० बजे

विराटनगर : प्रदेश-१ नेकपा संसदीय दल प्रदेश १ का उपनेता टंक आङबोहाङले नेकपा (दाहाल-नेपाल समूह)मा आफू नरहेको बताएका छन् । उनी दाहाल-नेपाल समूहको केन्द्रीय सदस्यसमेत हुन् । ‘दाहाल–नेपाल समूहसँग मेरो असहमती छ,’ उनले इकागजसँग भने । 

आफू पार्टी एकताको पक्षमा रहेको उनले बताए । तर विश्‍वस्त सुत्रले उनी नेकपा (ओली समूह)मा जाने सहमति भइसकेको बतायो । उनले आफै आफू दाहाल-नेपाल समूहमा नरहेको बताए । 


प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभा सचिवालयमा अढाइ महिनाअघि अविश्‍वासको प्रस्ताव दर्ता गराउन प्रमुख भूमिका आङबोहाङले खेलेका थिए । उनकै अध्यक्षतामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई नेकपा प्रदेश संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो । त्यसको केही समयपछि भने उपनेता आङबोहाङ दाहाल–नेपाल समूहका सार्वजनिक कार्यक्रममा देखिन छोडेका थिए । 

ताप्लेजुङबाट प्रदेश सभामा निर्वाचित आङबोहाङ तत्कालीन माओवादीका नेता हुन् । दुई दिनअघि ताप्लेजुङको दोभानमा भएको आगलागीमा राहत वितरण गर्न मुख्यमन्त्री राईसँगै सेनाको हेलिकप्टरमा उनी गएका थिए । आङवोहाङ काठमाण्डौबाटै हेलिकप्टरमा आएका थिए भने राई विराटनगर विमान स्थलबाट चढेका थिए । 

‘सौतेनीको रिसले श्रीमानको काख भिजाउने काम प्रचण्ड र माधव कामरेडले गर्नु भयो,’ आङबोहाङले भने, ‘एउटा कम्यूनिष्ट प्रधानमन्त्रीलाई फ्याकेर कांग्रेसका नेता शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरा हुन सक्दैन् ।’ 

अहिलेपनि पार्टी एक हुनु पर्छ भन्‍ने कुरामा आफू अडिक रहेको आङबोहाङले बताए । ‘तर पार्टी फुट्यो भने ओली र शेरबहादुर मध्ये एकलाई राज्‍नुपर्ने हुन्छ । त्यस बेला म ओली नै रोज्छु ।’ 

दाहालले पहिलो गल्ती पार्टी एकिकरण गरेर, दोस्रो गल्ती आधा–आधा समय प्रधानमन्त्री बन्‍ने सहमतिबाट पछि हटेर र तेस्रो गल्ती अहिले गरिरहेको उनले बताए । दाहालले जनादेशविपरीत पार्टी फुटाउने काम गरेको आरोप उनको छ ।
 
गएको पुस १२ गते प्रदेश सभा सचिवालयमा दर्ता भएको मुख्यमन्त्री राईविरुद्धको अविश्‍वासको प्रस्तावमा नेकपाका ६७ मध्ये ३७ सांसदले हस्ताक्षर गरेका थिए । प्रस्तावमा हस्ताक्षर गर्ने मध्ये आङबोहाङसहित ६ दाहाल-नेपाल समूह छोडेर ओली समूहतिर लागेका छन् । 

अविश्‍वासको प्रस्ताव दर्ता गन अघि राजीनामा गरेकी सामाजिक विकासराज्यमन्त्री जसमाया गजमेरले केही दिनपछि हस्ताक्षर फिर्ता लिदै ओली समूहमै फर्किएकी थिइन् । उनीसँगै हस्ताक्षर गर्ने मध्येका झापाका श्रीप्रसाद मौनाली र गोपाल बुढाथोकी, उदयपुरकी कला घले, खोटाङकी उषाकला राई र मोरङकी बसन्तीदेवी यादव पनि दाहाल-नेपाल समूह छोडेर ओली समूहतिर आएका छन् । 

गणीतीय रूपमा प्रदेश सरकार ढाल्न वा जोगाउन ४७ जना संसाद आवश्यक पर्छ । नेकपाका दुवै समूहले त्यो संख्या पुर्‍याउन सक्ने अवस्था छैन् । यो प्रदेशमा कांग्रेसको सहयोग दुवै समूहलाई आवश्यक पर्छ । 


 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x