राजनीति

माओवादी ‘नचाहने’ माओवादी

सानो घेरा नरुचाउने स्वभावले ‘जग’ नै बेपत्ता

आकाश क्षेत्री |
चैत २, २०७७ सोमबार १३:५५ बजे

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘सानो घेरा’ भित्र बस्‍न रुचाउँदैनन् । हरेक राजनीतिज्ञ जस्तै उनको स्वभाव पनि उस्तै हो । तर, यसका लागि हरदम प्रयत्न गरिरहन्छन् । उनलाई ‘जम्बो टीम’को नेता बन्‍न मन पर्छ । ‘जम्बो टीम’ बनाउने प्रयत्न यतिसम्म हुन्छ कि दाहाल पार्टीको नाम परिवर्तन गर्न पनि पछाडि हट्दैनन् । यसका उदाहरण अनेक छन् ।

०७६ माघ २५ उनी एक कन्क्लेभमा सहभागी थिए । त्यहाँ कार्यक्रम प्रस्तोताले उनलाई प्रश्न गर्छन्- ‘यहाँसम्म आइपुग्दा तपाईं माओवादी पार्टीको अध्यक्ष हुनुहुन्थ्यो, एउटा लिगेसी बोकेर आउनुभएको थियो, जनयुद्धको कुरा गर्नुभयो त्यसलाई अगाडि बढाउनु भएको थियो, कुन बिन्दूमा तपाईंलाई यो माओवादी पुग्यो, विसर्जन गर्दिउँ भन्‍ने लाग्यो ?’


जवाफमा दाहालले भन्छन्, ‘यसबारेमा पनि मैले दुई तीनवटा कुरा पहिलाको सम्झाउनुपर्छ, म जतिबेला पार्टीको महामन्त्री भएँ, सबैभन्दा पहिले मसाल भन्‍ने पार्टीलाई विघटन गरेँ । म महामन्त्री बन्‍ने बित्तिकै आफ्नै पार्टी विघटन गर्ने पहिलो नेता भएँ म । अनि जब जनयुद्धको तयारीमा गएँ, फेरि एकता केन्द्र बनाइएको थियो मैले त्यसलाई पनि विघटन गरेर माओवादी बनाएँ । यहीँ प्रक्रियालाई पनि बुझ्दा हुन्छ, फेरि माओवादीलाई पनि र एमालेलाई पनि विघटन गराएँ भन्छु म चाहीँ ।’

विघटन भएको करिब तीन वर्षपछि एमाले र माओवादी फेरि ब्युँतिएका छन् । फागुन २३ जारी सर्वोच्च अदालतको फैसलाले दुवै दल ब्युँतिएका एमालेहरू एमालेतिर, माओवादीरू माओवादीतिर लागे । सबै एमाले नेताहरू आफ्नै पार्टीमा फर्किए पनि माओवादीका केही प्रभावशाली नेताहरू आफ्नो पुरानो पार्टीमा फर्किएनन् । यही कारण अध्यक्ष दाहाल आफू सानो घेराभित्र रहेको महसूस गर्न थालेका छन् । यो घेरालाई बढाउन उनले पुरानै अस्त्र प्रयोग गर्न खोजेका छन् । त्यो अस्त्रको नाम हो, ‘पार्टीको नाम परिवर्तन ।’ 

पछिल्लो समय माओवादी केन्द्र वृत्तमा नाम परिवर्तनको चर्चा छ । आइतबार (चैत १) बसेको केन्द्रीय कमिटी बैठकमा यो विषयले प्रवेश पायो । पार्टी अध्यक्ष पुष्पकमल दाहालले बैठकमा नाम नाम परिवर्तनको प्रस्ताव राखेका थिए । प्रस्तावबारे सोमबार बस्ने (चैत २) केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने तयारी गरिएको छ ।  

अर्कोतर्फ माओवादीका शीर्ष नेताहरू पनि व्यक्तिगतरुपमा नाम परिवर्तनको विमर्शमा जुटेका छन् । केन्द्रीय कमिटीमा प्रस्ताव आउनुअघि नै नेताहरूले यो विषयमा परामर्श गरिरहेका थिए । बैठकमा छलफल गरेर, सबैलाई चित्त बुझाएर नै नामको विषय टुंगो लगाइने माओवादी केन्द्रका केन्द्रीय सदस्य खगराज भट्ट बताउँछन् । 

‘नाम परिवर्तनको विषय केन्द्रीय समिटी बैठकको एजेण्डाका रुपमा प्रवेश गरेको छ, अब नाम के राख्ने भन्‍ने विषयमा छलफल गर्नुपर्नेछ,’ भट्ट भन्छन्, ‘नाम माओवादी नै राख्ने कि अरु केही राख्ने भन्‍ने विषयमा छलफल होला, बैठक चलिरहेकै छ ।’

अर्कोतर्फ पार्टीको नाम अनौपचारिक रुपमा टुंगो लागेपछि मात्रै यो विषयको प्रस्ताव केन्द्रीय समितिमा प्रवेश गरेकोसमेत केही नेताहरूको भनाइ छ । उनीहरूका अनुसार, दलको नाममा माओवादी नजोड्ने र नेपाल कम्युनिस्ट पार्टी वरिपरि रहेर राख्ने तयारी भएको हो । नामहरू खोजीकै क्रममा ‘नेपाली कम्युनिस्ट पार्टी’ पनि चर्चामा रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । 

माओवादी केन्द्रले नाम परिवर्तन गर्न खोज्नुमा केही कारणहरू छन् । जसमध्येको प्रमुख कारण हो– ‘एमालेका असन्तुष्ट नेताहरूलाई आफूतिर तान्दै घेरा ठूलो बनाउने ।’ अर्को हो, मधेसकेन्द्रित दलहरू र अन्य कम्युनिस्ट घटकलाई पनि सँगै ल्याउने । शक्तिलाई पुनः आफूतिर केन्द्रित गर्न दाहालले पार्टीको नाम परिवर्तनको तयारी थालेका हुन् ।

माओवादी केन्द्र ब्युँतिएपछि दाहाल अलि कमजोर भएका छन् । उनका विश्वास पात्रहरूसमेत पछिल्लो समय एमालेतिर छन् । माओवादीका नेताहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरी पार्टी ब्युँतिएपछि एमालेतिर लागेका हुन् । 

०६३ को शान्तिप्रक्रियापछि दाहालले पटक-पटक आफ्नो पार्टीको नाम परिवर्तन गरेका छन् । ०७५ सालमा नेकपा गठन हुनुअघि माओवादीको नाम दुई पटक परिवर्तन भएको थियो । ०६५ सालमा तत्कालीन नेकपा माओवादी र एकता केन्द्र मशालबीच एकता भएपछि एकीकृत नेकपा माओवादी गठन गरिएको थियो । त्यसपछि ०७३ सालमा माओवादी १० समूहबीच एकता भएपछि ‘माओवादी केन्द्र’ बनेको हो ।


Author

आकाश क्षेत्री

संसदीय मामिलाको रिपोर्टिङ गर्ने क्षेत्री राजनीतिक संवाददाता हुन्।


थप समाचार
x