राजनीति

काठमाडौं र ललितपुर महानगरमा तेस्रो भएको विवेकशील साझा यसपालि के होला ?

कमल विष्ट |
बैशाख ४, २०७९ आइतबार १६:३२ बजे

काठमाडौं– आसन्न स्थानीय तहको निर्वाचनका लागि ७ बुँदे चुनावी तालमेल सम्झौता गरेको पाँच दलीय गठबन्धनले स्थानीय तहका विभिन्न पदका लागि साझा उम्मेदवारको टुंगो लगाउन सकिरहेको छैन । बरु जतिजति चुनाव नजिकिँदै छ, उतिउति देशका विभिन्न ठाउँमा गठबन्धनविरोधी मत बढिरहेको छ । 

सत्ता गठबन्धनले साझा उम्मेदवारको निर्णय गर्न नसिकिरहेका बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित अन्य दलले भने उम्मेदवारको नाम सिफारिसको कामलाई तीव्रता दिइरहेका छन् । आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने विवेकशील साझाले पनि तीव्र रुपमा उम्मेदवारको टुंगो लगाइरहेको छ । 


पार्टीको आन्तरिक द्वन्द्व उत्कर्षमै रहेका बेला विवेकशील साझाले काठमाडौं र ललितपुर महानगरपालिकाको मेयर र उपमेयरका लागि उम्मेदवारको टुंगो लगाइसकेको छ । 

गत निर्वाचनमा काठमाडौं र ललितपुर दुवै महानगरको मेयरमा तेस्रो धेरै मत पाएको साझाले यसपालि काठमाडौंको प्रमुख र उपप्रमुखमा क्रमशः समीक्षा बास्कोटा र कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुर महानगरको मेयरमा उज्जवलकृष्ण श्रेष्ठलाई अगाडि सारेको छ । 

गत निर्वाचनमा तत्कालीन साझा पार्टीबाट काठमाडौं महानगरको मेयरमा चुनाव लडेका किशोर थापाले १८ हजार ४ सय ९६ मत प्राप्त गरेका थिए भने उपप्रमुखकी उम्मेदवार निरुपमा यादवले ११ हजार ५ सय ३३ मत प्राप्त गरेकी थिइन् । थापा उक्त निर्वाचनमा चौथो धेरै मत ल्याउने उम्मेदवार बने भने यादव तेस्रो धेरै मत ल्याउने उम्मेदवार बने ।

काठमाडौं महानगरको मेयरमा तत्कालीन विवेकशील नेपालीबाट चुनाव लडेर चर्चामा आएकी रञ्जु दर्शना २३ हजार ४ सय ३९ मतका साथ तेस्रो बनिन् ।
त्यस्तै, साझाबाट ललितपुरको महानगरको मेयरमा उठेका स्वर्गीय रमेश महर्जनले १३ हजार ४ सय ५८ मत पाएका थिए भने उपमेयरकी उम्मेदवार शोभा शाक्यले १४ हजार २ सय ४० मत । स्वर्गीय महर्जन तेस्रो र शाक्य दोस्रो भएका थिए ।

स्थानीय तहको निर्वाचन एक्लाएक्लै लडेका तत्कालीन साझा पार्टी र विवेकशील नेपालीले प्रतिनिधि र प्रदेश सभाको चुनाव भने एक भएर लडे । त्यतिबेलाको निर्वाचनमा काठमाडौं र ललितपुरमा तेस्रो बनेको विवेकशील साझालाई आसन्न निर्वाचनमा भने आफूले पाएको मत कायम गर्नै पनि मुश्किल देखिन्छ । यसका तीनवटा कारण छन् । 

पहिलो, सत्तासीन पाँच दलीय गठबन्धनले चुनावमा जाने निर्णय गर्नु ।

यसपालि पाँच दलीय गठबन्धन र तीन दलीय प्रतिपक्षी गठबन्धनको कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ । यी दुई गठबन्धनको भीडन्तमा विवेकशील साझालाई जित्न गाह्रो पर्ने देखिन्छ । 

दोस्रो, दिनप्रतिदिन पार्टीभित्र बढ्दै गइरहेको कलह ।

गत वर्ष पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ शीर्षकको दस्तावेज ल्याएपछि सुरु भएको खटपट झन्झन् बढिरहेको छ ।

यो खटपट अब पार्टीभित्र मात्र सिमित छैन, अदालत र निर्वाचन आयोगसम्म पुगिसकेको छ । अहिले मिश्रविरुद्ध उनकै समूहका बहुमत सदस्यले आयोगमा निवेदन दिएका छन् भने पाण्डे समूहलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएपछि उनीहरु पार्टीविहीन अवस्थामा छन् । 

पार्टीले दुवै महानगरका मेयर र उपमेयरमा उठाएका उम्मेदवारलाई आफूहरुले समर्थन नगर्ने पाण्डे र मिश्रकै समूहले बताएको छ । पार्टीका अधिकांश सदस्यकै असमर्थन रहेका उम्मेदवारलाई चुनाव लड्न गाह्रो हुने अनुमान गर्न सकिन्छ । 

अब अन्तिम र सबैभन्दा महत्वपूर्ण कारण । पाँच वर्षअघि वैकल्पिक शक्तिप्रति नागरिकमा जुन किसिमको साथ र समर्थन थियो त्यो अहिले छैन । त्यो बेला वैकल्पिक शक्तिले केही गर्ला कि भन्ने आशासाथ भोट दिएका नागरिकहरु अहिले वैकल्पिकप्रति उति आशावादी छैनन् । विवेकशील साझाभित्रको आन्तरिक कलह र अध्यक्ष मिश्रको संघीयता र धर्म निरपेक्षताको खारेजी र राजसंस्थाको पुनस्र्थापनाको वकालत गर्ने दस्तावेजलाई लिएर पार्टीभित्र र बाहिर दुवै वृत्तमा आलोचना भइरहेको छ। 

यसको अलवा त्यो बेला वैकल्पिक शक्तिले पाएको भोट यसपालि स्वतन्त्र रुपमा उम्मेदवारको पक्षमा ढल्किने अनुमान गर्न थालिएको छ । 

तर, विवेकशील साझाका प्रवक्ता सरदराज पाठक भने नागरिकमा विवेकशील साझाप्रतिको ‘सेन्टिमेन्ट’ नघटेर बरु बढेको बताउँछन् । यी पाँच वर्षमा नागरिकहरु पुराना दलका काम र निर्णयको भुक्तभोगी भएकाले यसपालि नागरिकले फेरि तिनैलाई भोट नदिने दाबी गर्छन् । 
गठबन्धनप्रति नागरिकको जति आकर्षण छ, त्यति नै यसप्रति विकर्षण पनि भएको उनको ठहर छ । उनले पाँच दलीय सत्तासीन र प्रतिपक्षी तीन दलीय गठबन्धलाई नागरिकको छानौटको अधिकारमाथिको जालझेलको संज्ञा दिएका छन् । 

त्यस्तै, पार्टीभित्र देखिएको मतभेद सामान्य कुरा भएको र यसलाई सबैले सामान्य रुपमा बुझ्नुपर्ने बताउँछन् । ‘पार्टी निर्माणको क्रममा सामान्य उतारचढाव हुन्छ भन्ने कुरा हाम्रा शुभेच्छुकले बुझ्नुभएको छ,’ प्रवक्ता पाठकले इकागजसँग भने, ‘यो निर्वाचनमा हामी नतिजा आफ्नो पक्षमा पार्ने गरी काम गर्दैछौँ ।’
उनले अगाडि थपे, ‘हामीले यसपालि पनि राम्रो सामाजिक पहिचान, भिजन र सक्षमता भएका उम्मेदवार उठाएका छौँ ।’ पार्टीभित्र केहीको फरक मत भएता पनि चुनावमा सबैले सहयोग गर्ने उनले बताए । 

प्रवक्ता पाठकले यस्तो दाबी गरिरहँदा पाण्डे खेमाका नेता हरिश भट्टले भने मिश्रले उठाएका कुनै पनि उम्मेदवारलाई आफूहरुले सहयोग नगर्ने बताए । उनले आफूहरुले मात्र नभएर मिश्र खेमाकै नेताहरुले समेत अहिले उठाइएका उम्मेदवारलाई समर्थन नगर्ने जिकिर गरे । उनले मिश्र पार्टीमा अल्पमतमा रहेको पनि दाबी गरे । 

‘मिश्रले ल्याएको विचारभन्दा माथि देश दस्तावेज वैकल्पिक शक्तिको मर्म विपरीत र लोकतन्त्रविरोध मात्र छैन, देशको संविधान नै विपरीत छ,’ भट्टले भने, ‘हामी देशको संविधानलाई नै नमान्ने दस्तावेज ल्याउने राजावादीहरुलाई कुनै पनि हालतमा समर्थन गर्नेपक्षमा छैनौँ ।’

मिश्रले नेपालमा वैकल्पिक शक्तिले नागरिकमाझ पाएको माया र यसले जगाएको आशालाई निमिठ्यान्न पार्न काम गरेको आरोप भट्टको छ । पार्टीभित्रको मतभेदलाई नागरिकले सामान्य नभएको र सामान्य रुपमा लिन पनि नहुने बताए । 

उनले भने, ‘गत निर्वाचनमा नागरिकमाझ विवेकशीलप्रति जुन सेन्टिमेन्ट थियो, त्यो अहिले छैन,’ भट्ट स्वीकार्छन्, ‘हामीले यी पाँच वर्षमा आफूले गरेको कामलाई तटस्थ भएर मूल्यांकन गर्दा हामीबाट धेरै गल्ती भएका छन् । हामीले नागरिकको भोट र आशामाथि कुठाराघात गरेका छौँ । यस्तो हुनुको सम्पूर्ण दोष मिश्रले लिनुपर्छ ।’

यद्यपि उनले आफूहरुको लडाईं जारी रहेको बताए । आफूहरु अझ कसरी परिष्कृत रुपमा आउने उनले बताए । त्यसका लागि आफूहरु छलफल र गृहकार्यमा जुटिरहेको पनि उनले बताए । आसन्न निर्वाचनमा आफूहरुले अहिले स्वतन्त्र रुपमा उठेका कसै एकलाई समर्थन गर्ने वा आफूहरुमध्ये कोही एक उठ्ने भन्नेमा छलफल चलिरहेको उनले बताए । यो निर्णय एक साताभित्र भइसक्ने उनले बताए । 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x