राजनीति

दार्चुलामा गठबन्धनबीच जुट्यो सहमति, तीन पालिका जितेको एमालेले दिन सक्ला चुनौती ?

नाै स्थानीय तहमध्ये पाँच कांग्रेस, तीन माओवादीकाे भागमा र समाजवादी पछि हट्याे

कमल विष्ट |
बैशाख ७, २०७९ बुधबार १९:९ बजे

काठमाडाैँ – दार्चुलामा सत्ता गठबन्धनमा सम्मिलित पाँच दलबीच सिट बाँडफाँडमा सहमति जुटेको छ । आज बसेको सत्ता गठबन्धनको बैठकमा जिल्लाको ९ स्थानीय तहमध्ये दुवै नगरपालिकासहित ५ तह नेपाली कांग्रेस र ४ तह नेकपा माओवादी केन्द्रले पाउने सहमति जुटेको हो । 

सहमति जुटेसँगै कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिका तथा मालिकार्जुन, दुँहु र ब्यास गाउँपालिको प्रमुखमा आफ्ना उम्मेदवार उठाउनेछ । त्यस्तै, माओवादी केन्द्रले अपि हिमाल, मार्मा, नौगाडा र लेकम गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनेछ । 


कांग्रेसको पोल्टामा ५ र माओवादी केन्द्रको पोल्टामा ४ तह पर्दै गर्दा लोमो समयदेखि आफूले कम्तिमा एक नगरपालिका पाउनुपर्ने दाबी गर्दै आएको नेकपा एकीकृत समाजवादीको भागमा एक सिट पनि परेन । समाजवादीले ९ तहका अधिकांश वडा पाउने सहमति भएपछि आफूहरु पछाडि हटेको समाजवादीका दार्चुला जिल्ला अध्यक्ष वीरबहादुर ठकुल्लाले बताए । 

‘हामीहरु दुई कारणले पछाडि हट्यौँ । पहिलो, यी सबै तहका अधिकांश वडा समाजवादीले पाउने सहमति हुनु र अर्को, हाम्रो संगठन त्यति बलियो भइनसक्नु,’ ठकुल्लाले भने, ‘तर, वाचा गरे अनुरुप हामीलाई प्रशस्त वडाहरु दिइएन भने हामी एक्लै चुनाव लड्छौँ ।’

अध्यक्ष ठकुल्लाले इमान्दरपूर्वक गठबन्धनका सबै दलले एकअर्कालाई सहयोग गरेको खण्डमा सबै ठाउँमा आफूहरुले जित्ने दाबी गरे । ठकुल्लाले यस्तो दाबी गरिरहँदा नेकपा एमालेका दार्चुला जिल्ला अध्यक्ष प्रेम सिंहले गठबन्धनमाथि एमाले हाबी हुने दाबी गरे। अध्यक्ष सिंहले पाँच दलीय अहिलेको गठबन्धनको कुनै औचित्य नरहेको बताए। उनले यो गठबन्धनलाई परमादेशबाट आएको गठबन्धनको संज्ञा दिए । 

‘गठबन्धनमा जति नै दल सम्मिलित भए पनि त्यो एमालेभन्दा कमजार नै हुनेछ । दार्चुलाका सबै नागरिकको आशा र भरोसाको केन्द्र एमाले नै हो,’ धामीले भने, ‘हाम्रा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा यो ठाउँको स्तरोन्नती मात्र गरेका छैनन्, चुच्चे नक्शा पारित गरेर कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन पहल गरेको कुरा यहाँ हरेक नागरिकलाई थाहा छ ।’

उनले अगाडि भने, ‘यो गठबन्धन नागरिकको जनादेशबाट बनेको होइन, परमादेशबाट आएको होइन। यो गठबन्धन छलकपट गरेर नागरिकलाई झुक्याउन ल्याइएको हो। यसमा नागरिकको कुनै चासो छैन ।’ 

सत्तारुढ गठबन्धनलाई सहजै पछार्न सक्ने उम्मेदवारहरुलाई आफ्नो पार्टीले चुनावमा उठाउने उनले जिकिर गरे । यसका लागि एमाले निरन्तर गृहकार्यमा रहेको र भोलिसम्म सबै तहका उम्मेदवारको टुंगो लाग्नेसमेत दाबी गरे । अघिल्लो निर्वाचनमा ३ तह मात्र जितेको एमालले यसपालि भने सबै तहमा जित्ने गरी तयारी गरिरहेको उनले बताए । 

यस्तो छ गत निर्वाचनमा दार्चुलाको ९ वटा स्थानीय तहको मतपरिणाम

२०७४ सालको निर्वाचनमा जिल्लाका ९ स्थानीय तहमध्ये दुवै नगरपालिकासहित ५ तहमा कांग्रेसले विजय प्राप्त गरेको थियो भने ३ तहमा नेकपा एमालेले विजय प्राप्त गरेको थियो । बाँकी रहेको एक तहमा माओवादी केन्द्रले जित निकालेको थियो । 
१. अपिहिमाल गाउँपालिका– अध्यक्ष र उपाध्यक्ष दुवै पदमा तत्कालीन एमाले विजयी । अध्यक्षमा धर्मानन्त सिंह मन्याल १२ सय ४९ र उपाध्यक्षमा उर्मिला कार्की १ हजार ३ सय ३६ मत प्राप्त गरि विजयी । 

२. दुँहु गाउपालिका– अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी । अध्यक्षमा पुलेन्द्रबहादुर कार्की २ हजार ५ र उपाध्यक्षमा श्रीमती इश्वरी जोशी २ हजार २ सय ५ मत प्राप्त गरि विजयी । 

३. नौगाड गाउँपालिका– अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमाले विजयी । अध्यक्षमा प्रेम सिंह धामी २ हजार २ सय ८९ र उपाध्यक्षमा गौरी देवी ठगुन्ना २ हजार ३ सय ६ मत प्राप्त गरि विजयी । 

४. ब्यास गाउँपालिका– अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी । अध्यक्षमा दिलीप सिंह बुढाथोकी १ हजार ९ सय १५ र उपाध्यक्षमा कुमारी हेमा जोशी १ हजार ८ सय १९ मत प्राप्त गरि विजयी । 

५. महाकाली नगरपालिका– प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेस विजयी । मेयरमा ५ सय ६० र उपमेयरमा चक्र सिंह बोहरा ३ सय ६७ प्राप्त गरि विजयी । 

६. मार्मा गाउँपालिका– अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा माओवादी केन्द्र विजयी । अध्यक्षमा जमन सिंह धामी २ हजार ३ सय ५४ र उपाध्यक्ष बाग्मती ठगुन्ना २ हजार २ सय ७१ मत प्राप्त गरि विजयी । 

७. मालिकार्जुन गाउँपालिका– अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी । अध्यक्षमा नरेन्द्र सिंह धामी ३ हजार ८६ र उपाध्यक्षमा पुष्पा अवस्थी २ हजार ९ सय ५८ मत प्राप्त गरि विजयी । 

८. लेकम गाउँपालिका– अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमाले विजयी । अध्यक्षमा परमानन्द जोशी २ हजार २ सय ३५ र उपाध्यक्षमा माधवी जोशी २ हजार २ सय ३० मत प्राप्त गरि विजयी । 

९. शैल्यशिखर नगरपालिका– प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेस विजयी । प्रमुखमा अमर सिंह धामी ३ हजार ९ सय २९ र उपप्रमुखमा कुमारी राजमती बम ९ हजार ९ सय २६ मत प्राप्त गरि विजयी ।
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x