कोशी

काेशी प्रदेश : गठबन्धनको दवाबमा प्रदेश प्रमुख, मुख्यमन्त्री नियुक्तिमा ढिलाइको संकेत

इकागज |
असोज २६, २०८० शुक्रबार १२:७ बजे

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री नियुक्ति प्रक्रिया लम्ब्याउने संकेत गरेका छन् । खापुङ्गले संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको मुख्यमन्त्री नियुक्तिका लागि शुक्रबार अपरान्ह ५ बजेसम्मको समय दिएका छन् ।

तर बिहीबार नै काङ्ग्रेसबाट बिद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका डा शेखर कोइराला निकट केदार कार्कीले भने मुख्यमन्त्री नियुक्तिको प्रक्रियामा ढिलाई हुने संकेत पाएको भन्दै प्रदेश प्रमुख कार्यालयमै धर्ना बस्ने तयारी गरेको स्राेतको भनाई छ । कार्कीको पक्षका काङ्ग्रेसका ८ जना सभा सदस्यले समर्थन जनाएका छन् । एमालेका ३९ सभा सदस्यले पनि कार्कीलाई समर्थन गरिसकेका छन् ।


सत्ता गठबन्धनबाट भने माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन् । आङ्बोको दाबीका कारण प्रदेश प्रमुख खापुङ्गलाई काङ्ग्रेस सभापति शेर बहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादव लगायतले मुख्यमन्त्री नियुक्ति प्रक्रिया आइतबारसम्म लम्ब्याउन प्रदेश प्रमुख खापुङ्गलाई दवाब दिइरहेको स्राेतले जनाएको छ ।

गठबन्धनको दवाबमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति प्रक्रिया लम्ब्याउन सक्ने देखिएको भन्दै कार्की पक्ष शसंकित बनेका छन् ।

यसैबीच कोशी प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश प्रमुख खापुङ्गलाई शुक्रबार बिहान भेटेर संविधानको धारा १६८ को उपधारा (५) बमोजिम पेस भएका दावी र समसामयिक राजनीतिक विषयमा चासो व्यक्त गरेका छन् ।

एमाले संसदीय दलका नेता समेत रहेका कार्कीले स्वयं  मुख्यमन्त्रीको दावी पेस गरेका केदार कार्कीको समेत हस्ताक्षर प्रयोग भएर अर्को दाबी पेस भएको विषयमा समेत चासो व्यक्त गरेको जनाइएको छ ।

मुख्यमन्त्री कार्कीले शुक्रबार नै सहि निर्णयमा पुग्न समेत प्रदेश प्रमुख खापुङ्गलाई सुझाव दिएको मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले जानकारी दिए । 

जवाफमा प्रदेश प्रमुख खापुङ्गले दाबीहरुका विषयमा कानुनी परामर्श गर्ने जवाफ दिएको जनाइएको छ ।


Author

थप समाचार
x