कोशी

हिक्मत सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक

इजरायलमा अलपत्र परेका नेपालीलाई छिटो उद्धार गर्न प्रचण्ड सरकारसँग माग

इकागज |
असोज २६, २०८० शुक्रबार १६:४५ बजे

विराटनगर- कोशी प्रदेशका काम चलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारको अन्तिम मन्त्रिपरिषद् बैठकले इजरायलमा अलपत्र परेका सबै नेपालीको छिटो उद्धार गर्न माग गरेको छ ।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई इजरायलमा अलपत्र नेपालीहरूको छिटो उद्धार गर्न माग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले बताए ।


उनले हमास समूहको आक्रमण परी ज्यान गुमाएका नेपाली विद्यार्थीहरूको शव छिटो नेपाल ल्याएर परिवारलाई बुझाउन आग्रह गरिएको जानकारी दिए । साथै उक्त आक्रमणमा परी घाइते भएका नेपालीहरूको उद्धार गर्न माग गरिएको बताए ।

बैठकले प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिवलाई चीन भ्रमणमा पठाउन सहमति दिने निर्णय गरेको छ । त्यसैगरी सोही मन्त्रालयका करारका कर्मचारीहरूलाई थप ६ महिनाका लागि म्याद थप गर्ने निर्णय गरेको जनाइएको छ ।


Author

थप समाचार
x