कोशी

कार्कीलाई मुख्यमन्त्री बनाउन ४७ सांसदले गरे हस्ताक्षर (नामसहित)

इकागज |
असोज २७, २०८० शनिबार ९:४४ बजे

विराटनगर- कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा केदार कार्की पक्षका सांसदहरूको सनाखत सकिएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गको उपस्थितिमा  सनाखत भएको हो ।

नेपाली काङ्ग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ सांसदहरू मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेका केदार कार्की पक्षमा सनाखत गरेका छन् । कार्कीलाई ४७ जना सांसदले साथ दिएका छन् ।


संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको मुख्यमन्त्री नियुक्ति गर्न आज (शनिबार) बिहान ८ बजदेखि दिउँसो २ बजेसम्म सनाखतको समय तोकिएको थियो । कार्की पक्षका सांसदहरु निर्धारित समय अगावै प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।

प्रदेश प्रमुख खापुङ्गले असोज २० गते उपधारा (५) बमोजिमको मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न हिजो (शुक्रबार) अपरान्ह ५ बजेसम्मको समय तोकेका थिए । तोकिएको समयभित्र सत्ता गठबन्धनको समर्थनमा माओवादी केन्द्रका इन्द्र बहादुर आङ्बो र काङ्ग्रेसको विद्रोही समुहका केदार कार्कीको दाबी परेपछि ९३ सदस्यीय कोशी प्रदेश सभाको बहुमत संख्या ४७ पुर्‍याउने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न उनले सनाखतको समय निर्धारण गरेका हुन् ।


Author

थप समाचार
x