कोशी

निकासीको बाटो खोलिदिन सरकारसँग उद्योगीको आग्रह

माग घटेपछि मास्क र सेनिटाइजर उत्पादनमा कटौती

लीलावल्लभ घिमिरे |
मंसिर २२, २०७७ सोमबार १३:१३ बजे

मोरङको हात्तिमुडामा एक उद्योगमा मास्क उत्पादन गर्दै । तस्वीरः लीलावल्लभ घिमिरे

विराटनगर : मास्क तथा सेनिटाइजर निकासीका लागि बाटो खोली दिन उद्योगीहरूले सरकारसँग माग गरेका छन् । उत्पादन अनुसारको माग नभएका कारण उत्पादनमा कटौती गर्नु परेको उनीहरूको भनाइ छ । 

‘आठ महिनाअघि सम्म हामी आयातको भरमा थियौं,’ उद्योगी महेश जाजुले भने, ‘अहिले हामी निर्यात गर्न सक्ने अवस्थामा छौं, त्यसैले अब बाटो खोली दिनुपर्छ ।’ नेपालमा उद्योग स्थापना भएसंगै मास्कमा आत्मानिर्भर मात्र हैन निकासी गर्न सक्ने अवस्थामा पुगेको उनको भनाइ छ ।


तर अहिले पनि सरकार आयातलाई प्रोत्साहन गर्ने पक्षमा रहेको जाजुको आरोप छ । ‘हामीले मास्क र सेनिटाइजर उद्योगका लागि कच्चा पर्दाथ ल्याउदा ३० प्रतिशतसम्म कर तिर्नुपर्छ,’ उनले भने, ‘तर तयारी बस्तु आयात गर्दा ५ प्रतिशत मात्र कर तिरे पुग्छ ।’

‘रिजालको’ ब्राण्डको मास्क तथा सेनिटाइजर उत्पादन गर्दै आएका मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नविन रिजाल सरकारले नेपालमा उत्पादन भएको सेनिटाइजरमा ७० प्रतिशत अल्कोअल भए नभएको लगाएतमा परीक्षण गर्ने गर्छ तर तयारी अवस्थामा आयात भएको सेनिटाइजरको गुणस्तर मापन भने नगरिएको बताउँछन् ।

‘सरकार अहिले पनि आयातलाई प्रोत्साहन र निर्यातलाई निरुत्साहित गर्ने पक्षमा छ,’ उनले भने, ‘हामी निर्यात गर्ने अवस्थामा छौं तर ढाट लगाएर बसेको छ ।’  आठ महिनाअघि बजारमा मास्क किन्न समेत पाइदैन थियो । पसलेले ब्ल्याकमा खरीद गर्थे भने उपभोत्ताहरूले २ रुपैयाँमा पाउने मास्कलाई १० रुपैयाँसम्म तिर्न बाध्य थिए । कोरोनाको महामारीको शुरुवाती चरणमा मास्कको हाहाकार नै भयो बजारमा । त्यस बेला यहाँ मास्क उत्पादन नै हुदैन थियो ।

तर अहिले माग कम भएका कारण उद्योगले आफ्नो उत्पादनमा आधा कटौती गर्न थालेका छन् । बजारमा अत्याधिक माग बढेसंगै देशभर मास्क र सेनिटाइजर उद्योग स्थापना भए । यी उद्योगहरुमा हालसम्म करीव ५ अर्बको लगानी भएको अनुमान गरिएको छ ।

आठ महिनाअघि सम्म चीन, भारत, जापान, इटाली, बंगलादेश, अफगानिस्तान, थाइल्यान्ड, हङकङ, जर्मनी, फ्रान्स, इन्डोनेसिया र मलेसियालगायत देशहरूबाट नेपालमा मास्क आयात हुन्थ्यो । तर आठ महिनापछि ठीक उल्टो भएको बजार बजारमा उत्पादन अनुसारको माग नहुँदा उद्योगहरूले उत्पादनमा आधा कटौती गर्नु परेको छ । 

सुनसरी, मोरङ र झापा जिल्लामा मात्र पछिल्लो समय १० भन्दा बढी मास्क र सेनिटाइजरका ठूला उद्योग खुलेका छन् । एउटा उद्योगमा ६ करोडसम्म लगानी भएको उद्योगीहरू बताउँछन् । 

मोरङको बुढीगंगा गाउँपालिकामा अवस्थित हिमगिरी सोप इन्डस्ट्रीजले औरा ब्रान्डमा सेनिटाइजर र त्यसलगत्तै मास्क पनि बजारमा ल्यायो । जाजू र देबेनरा समूहको जोइन्ट भेन्चरमा यो उद्योग स्थापना भएको हो । यसै गरी रिजाल समूहले पनि दुवै उद्योग स्थापना गरेर रिजालको ब्राण्डमा बजारमा मास्क र सेनिटाइजर ल्याएको छ । औद्योगीक समूह राठीले पनि मास्क र सेनिटाइजर उद्योग स्थापना गरेका छन् । देशभर अहिलेसम्म मास्क र सेनिटाइजरका करीव ३५ वटा ठूला उद्योगमा ३ अर्ब भन्दा बढी लगानी भएको उद्योगी महेश जाजु बताउँछन् । 

‘माग अत्याधिक भएकाले धेरैले यस क्षेत्रमा लगानी ग-यौं’ जाजुले भने, ‘तर अहिले खपत कम भएका कारण सवैले उत्पादन आधा गर्नु पर्ने अवस्था आएको छ ।’ 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x