मधेश

विद्युतीय झिलीमिलीले नेपाली परम्परा विस्थापित

माधुरी महतो |
कात्तिक २७, २०७७ बिहीबार १८:३ बजे

परम्परागत माटाेकाे दियाे । तस्विर : माधुरी महताे/इकागज

वीरगञ्ज : दीपावलीमा माटोले बनाएको सामाग्री अनिवार्य रुपमा प्रयोग गर्नैपर्ने चलन छ । माटोको पूजा सामग्री बेचेर अन्य दिनको तुलनामा तिहार तथा छठमा आम्दानी हुने गरेको भए पनि अचेल ग्राहकको रोजाईमा विद्युतीय झिलीमिली पर्ने गरेको छ । यसले गर्दा माटोको कारोबारबाट खासै राम्रो आम्दानी नहुने गरेको व्यापारीहरु बताउँछन् ।

दशैँ सकेसँगै दीपावली र छठका लागि माटाको दियो बनाउने र बेच्ने काममा मानिसहरु व्यस्त हुने गर्छन् । तर  माटोको दियो बेच्ने व्यापारीरुमा भने पहिलाजस्तो उत्साह छैन । आधुनिकतासँगै उनीहरुले बनाएका माटोको कलात्मक भाँडाहरुको बिक्रीमा कमी आएपछि व्यवसाय संकटमा परेको पर्सा पोखरीयाका जितन प्रसाद भन्छन् ।


लक्ष्मीपूजा र आस्थाको पर्व दीपावली तथा छठका लागि माटोको दीयो, हाथी, ढकनी, घैँटोलगायतका सामाग्रीहरु बनाएर बेच्दै आएकोमा आजभोलि पहिलोको जस्तो बिक्री कम हुने गरेको बाराफेटाका अशोक कोहारले बताए । ‘चाडपर्वको समयमा माटाका सामानहरुको माग पहिले पहिले बढी हुने गथ्र्याे,’ उनले भने, ‘आम्दानी पनि राम्रो हुन्थ्यो, तर अहिले भने पित्तल र चाइनिज सामान इलेक्ट्रोनिक सामाग्रीको प्रयोगले आफ्नो सामानको बिक्री घट्यो ।’

वीरगंज घण्टाघरमा माटोको सामाग्री बेच्दै गरेका एकजना कुम्हाले समुदायका स्थानीय पारस कोहार भन्छन्, ‘माटोको सामाग्री बनाएर निजगढ, सिमरा अमलेखगंज ,पथलैया लगायत आफ्नै गाउँघरमा पनि बेच्दा छठ पर्वसम्मा करीब १ लाख रुपैयाको बिक्री हुन्थ्यो ।’

सिजनमा खेती किसानी गरेर धान नबेचे पनि माटोको सामान बेचेको त्यही पैसाले वर्ष दिनसम्म घरपरिवार चल्ने गरेको उनी सम्झन्छन् । १६ वर्षको उमेर छँदै उनले सुरु गरेको यो व्यवसाय अब ५७ लाग्दा अर्को उपाय खोज्ने बाध्यता उनीमाथि आइलाग्दैछ ।

पराम्परागत रुपमा चल्दै आएको यो व्यवसाय अब विस्तारै लोप हुँदै गएको छ । नयाँ पुस्ताले पनि सिकेनन् । इलेक्ट्रोनिक सामाग्री, मैनबत्तीलगायतका सामाग्री आएपछि बिक्री कम छ । पहिलेको भन्दा अवस्था र समय दुवै धेरै फरक भइसकेको उनीहरुको बुझाई छ । मेहेनत र खर्च दुईटै बर्बाद भएकोमा उनीहरु विश्वस्त छन् ।
उनीहरु आफूहरुको उक्त परम्परागत पेशा संरक्षण र गरिबका लागि सरकारले सोच्नुपर्ने बेला आएको बताउँछन् । 


Author

थप समाचार
x