बागमती

४ वर्षअघि बढेको भाडा अहिले माग, उद्योगीहरु आन्दोलन जाने

सरिता दाहाल |
साउन १२, २०७९ बिहीबार १९:१९ बजे

मकवानपुर । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी लिमिटेडले चार वर्षअघि बढाइएको भाडा अहिले असुल गर्न खोजेको प्रति उद्योगीहरुले असन्तुष्टि जनाएका छन् ।

४ वर्ष पहिले बढाएको भाडा २०७९ सालमा आएर पत्र काटेको भन्दै उद्योग संघ मकवानपुर आन्दोलनमा उत्रने भएको हो । औद्योगिक क्षेत्र व्यवस्थापनले यहाँको उद्योगहरूलाई कुल १४ करोडभन्दा बढी रकमको बिल पठाएको जनाइएको छ ।

क्षेत्रफलको दृष्टिकोणले देशकै ठूलो हेटौँडा आद्योगिक क्षेत्रका उद्योगीहरूलाई अहिले प्रोत्साहनभन्दा उद्योग बन्द गर्न बाध्य पार्न लागिएको आरोप लगाइरहेका छन् ।

उद्योग संघ मकवानपुरले आज मकवानपुर आइपुगेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर भाडा लागू नगर्न माग गरे । उद्योग संघ अध्यक्ष स्वागतराज प्याकुरेलले जग्गा भाडादर वृद्धिप्रति संघको पूर्ण असहमति रहेको भन्दै लागू नगर्न मन्त्रीसमक्ष अनुरोध गरेको बताए ।

लिमिटेडले हेटौँडा औद्योगिक क्षेत्रको प्रति रोपनी १९ हजार ६ सय ९१ रुपैयाँको दरले भाडा भुक्तानी गर्न औद्योगिक क्षेत्रका १ सय ४९ वटा उद्योगहरूलाई पत्रसहित बिल पठाएको छ ।

कार्यालयले २०७५ को निर्णय अनुसारको बढेको जग्गा भाडा भुक्तानीका लागि उद्योगीहरूलाई पत्र काटेको हो । लिमिटेडले हेटौँडा औद्योगिक क्षेत्रको हाल कायम भाडादरमा १ सय ३३ प्रतिशत वृद्धि गरेर सोही अनुसारको भाडा भुक्तानीका लागि पठाएको हो ।

२०७५ मंसिर ५ को निर्णयानुसारको भाडा तिर्नुपर्ने भन्दै ४ वर्षपछि उद्योग प्रतिष्ठानहरूलाई पत्र काटेको जनाइएको छ । “आजसम्म बिना जानकारी बस्ने अनि यसरी एक्कासी भुक्तानीको पत्र पठाउने यो न्याय संगत भएन” एक उद्योगिले भने । “चार वर्षअघि बढाइएको भनिएको भाडाको भुक्तानी दिन यतिबेला पत्र काटेर हुन्छ रु” उनले भने । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाका प्रमुख भोजराज विनाडीका अनुसार ‘२०७५ सालमै भाडा बढाउने निर्णय कार्यान्वयन गर्न भनिएको थियो । “सोही अनुसार हामीले भुक्तानीका लागि बिलसहित पत्र काटेका हौ ।” विनाडीले भने ।

बिल अनुसार हेटौँडा औद्योगिक क्षेत्रमा १७ रोपनी जग्गा भाडामा लिएर सञ्चालन गर्दै आएको एउटा उद्योगले यसै महिनामा ९ लाख ५ हजार रुपैयाँ भाडा भुक्तानी गर्नुपर्ने भएको छ । कोरोना महामारीपछि थिलोथिलो भएको उद्योगहरू बामे सर्न लाग्दा यस्तो तनाव दिइएकोले यो तिर्न नसकिने अवस्थामा उद्योगहरू नरहेको संघका अध्यक्ष प्याकुरेल बताउँछन् ।

बल्ल उठ्न थालेको र हाल तरलता अभाव र महँगीका कारण धरासयी अवस्थामा भाडा वृद्धिको निर्णयले हतोत्साहित बनाएको उनको भनाइ छ । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका १ सय ४९ वटा उद्योगमध्ये १ सय ३३ वटा सञ्चालनमा छन् । ५ वटा पूर्ण रूपमा बन्द अवस्थामा छन् । ११ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेको कार्यालयले जनाएको छ ।



Author

थप समाचार
x