बागमती

केन्द्रीय बस टर्मिनललाई नमुना बसपार्क बनाउँछौं : प्रमुख दाहाल

इकागज |
भदौ ९, २०८० शनिबार २१:० बजे

चितवन- भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा रहेको केन्द्रीय बस टर्मिनललाई नमुना बसपार्कका रूपमा विकास गर्ने बताएकी छिन् । बसपार्क नजिकै रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले अहिले बसपार्कको स्तरोन्नति भइरहेको बताएकी हुन् ।
 
बसपार्क हरियाली बनाउन वृक्षरोपण, सरसफाइ, मर्मतसम्भारलगायतका काम भइरहेको प्रमुख दाहालले बताइन् । सघन सहरी विकास मन्त्रालयबाट रु १० करोड र भरतपुर महानगरपालिकाले छुट्टै लगानी गरी नमुना बसपार्क बनाउनेतर्फ केन्द्रित रहेको उनको भनाइ छ ।
 
बसपार्कको रङरोगन, कालोपत्र, हरियाली गराउने कामसँगै सरसफाइको कामलाई एकसाथ अगाडि बढाइएको उनले जानकारी दिइन् । 

करिब एक सय ९५ शेयर सदस्य रहेको संस्थाको भवन निर्माण गर्न भरतपुर महानगरपालिका, वडा नं ९ तथा स्थानीय दाताको सहयोग भएको अध्यक्ष लक्ष्मी सापकोटा कँडेलले जानकारी दिइन् । संस्थाले ३० कट्ठा जमिनमा फूल र आठ कट्ठा जमिनमा बेसारखेती गरेको छ ।



Author

थप समाचार
x