बागमती

राजमार्ग व्यवस्थापन गर्न मकवानपुरका दलहरू एकमत

इकागज |
भदौ १२, २०८० मंगलबार १३:६ बजे

मकवानपुर ।  एसियन हाईवेको मापदण्ड अनुसार राजमार्ग व्यवस्थापन गर्न मकवानपुरका राजनीतिक दलहरू एकमत हुँदै प्रधानमन्त्रीलाई भेटेका छन् ।

जिल्लामा राजनीतिक दलहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजमार्ग व्यवस्थापनको माग गरेका हुन् । मकवानपुरका सांसदसहितको टोलीद्वारा हेटौंडामा सडक विस्तारका विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराइएको हो ।


सडक विस्तार गर्ने सरकारको कामलाई कसैले बाधा, अवरोध नगर्ने  तर, सडक विस्तारकै कारण हेटौंडाको एचआइडी, मेनरोड, राप्ती रोडका घरधनी र व्यवसायीहरु सुकुम्वासी हुने भएकाले मुआब्जा दिएर मात्र भत्काउनका लागि माग गरेका हुन् ।

 आज बिहान मकवानपुरका संघीय, प्रदेश सांसद, राष्ट्रिय सभाका सदस्य, पूर्व सांसदहरु सहितको टोलीले हेटौंडाको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्दा यहाँका घरधनी र व्यवसायीहरुलाई उचित क्षतिपूर्ति र मुआब्जा दिएर मात्र सडक विस्तार गर्नका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

हेटौंडाको रातोमाटेदेखि रापती पुलसम्मको राजमार्ग विस्तार गर्दा यहाँ पर्ने घरधनीहरुलाई मुआब्जा दिनुपर्ने उनीहरुले माग राखेका हुन् । प्रधानमन्त्रीलाई भेट गरेर सांसदहरुको टोलिले पहिले यहाँका घरहरुको लगत संकलन गर्नुपर्ने र त्यसपछि मुआब्जा दिएर भत्काउनका लागि ध्यानाकर्षण गराएका हुन् ।

संघिय संसदमा मकवानपुरबाट प्रतिनिधित्व चार सांसदहरू महेश कुमार बर्तौला, दिपकबहादुर सिंह, विन्दवासीनी कंशकार, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, पूर्व सांसदहरु कृष्णप्रसाद दाहाल, अनन्त पौडेल, प्रदेश सभाका सदस्य लक्ष्मी श्रेष्ठ, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद गुप्ता अग्रवाल लगायतकाको टोलीले आज बिहान प्रधानमन्त्रीलाई भेट गरेको हो ।

पछिल्लो पटक संघीय सरकार अन्तर्गतको डिभिजन सडक कार्यालय हेटौंडाले ३५ दिने सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन समय सीमा दिएकोमा सर्वोच्चको कारण काम रोकिएको छ । साउन १६ गतेबाट राजमार्ग व्यवस्थापनको काम हुनुपर्नेमा सर्वोच्चमा स्थानीयले रिट हालेपछि तत्काललाई काम रोकिएको थियो । 
तोकिएको पेसीमा सर्वोच्चले हेर्न नमिल्ने सूचीमा राखेपछि यो विषय अलमलमा छ ।


Author

थप समाचार
x