बागमती

बागमती प्रदेश सभामा भाषा विधेयकमाथि छलफल

इकागज |
असोज १४, २०८० आइतबार २०:२० बजे

मकवानपुर- स्थगित भएकाे १५ दिन पछि बसेकाे बागमती प्रदेश सभामा सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकमाथि छलफल भएको छ । प्रदेश सभाको आइतबार बसेको दोस्रो बैठकमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो ।

उक्त विधेयक सांस्कृतिक, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले सैद्धान्तिक छलफल गरियोस् भनि संसदमा प्रस्ताव टेबुल गरेका थिए । प्रस्ताव टेबुल गरिएपछि प्रदेश सभा सदस्य रमा आले मगर, सुरेन्द्रराज गोरसाईँ, सृजना सैजू, मधुसुदनप्रसाद पौडेल, बसन्त मानन्धरलगायतले आ–आफ्नो धारणा राखेका थिए ।


छलफलका क्रममा प्रदेश सभाका सदस्यहरूले सरकारद्वारा प्रस्तुत गरिएको उक्त विधेयककाे प्रशंसा गर्दै प्रदेशका बसाेबास गर्ने सुनुवार, जिरेल र मगर भाषालाई उत्थान गर्न प्रदेश सरकारले पहल गर्नुपर्ने बताएका थिए । उनीहरूले सानैदेखि विद्यालय तहबाटै मातृभाषामा अध्ययन अध्यापन गराउने प्रदेश र स्थानीय तहबाट हुनु पर्ने विविध भाषा हराउँदै जानु भनेकाे हाम्राे सभ्यता गुम्दै जानु भएकाेले विभिन्न भाषाकाे संरक्षण गर्नु पर्ने बताएका छन् । प्रदेश सभा सदस्यहरूले नेवारी परम्पराका जात्रा पर्वलाई सम्पदा सूचीमा सूचीकृत गरी संरक्षण गर्नेतर्फ सरकारकाे दीर्घकालीन कार्यलाई प्राथमिकतामा राखी तीब्रता दिनुपर्ने बताएका छन् ।

यस्तै, भाषा सम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै सहकारी मन्त्री महर्जनले प्रदेश सरकारले दीर्घकालीन भाषिक विकासको लागि पहिलो चरणमा नेवारी र तामाङ भाषालाई प्राथमिकता दिएर संघीयताको आधारलाई कार्यान्वयनमा ल्याउन लागिएको बताए । उनले प्रदेशको विभिन्न जिल्लामा रहेका आदिवासी जनजाति, दलितहरूको पनि मातृभाषासहितको भाषिक विकासको लागि क्रमशः विधेयकहरू प्रस्तुत गर्दै लैजाने सरकारको नीति रहेको सभामा जानकारी गराएका थिए ।

यसअघिकाे आजकाे प्रदेश सभाकाे पहिलाे बैठककाे शून्य समयमा सदस्यहरूले राष्ट्रिय तथा प्रदेशका जल्दाेबल्दाे विषयमा आफ्नाे धारणा राखेका थिए र आजकाे बैठकमा विशेष समय नरहेकाे जानकारी सभामुख भुवनकुमार पाठकले गराएका थिए । सभामुख पाठकका अनुसार प्रदेश सभाको अर्को बैठक असोज १५ गते साेमबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएकाे छ ।

गत भदाै ३० गते शनिबारकाे प्रदेश सभा बैठकले ४ वटा विधेयक विभिन्न समितिमा पठाउन स्वीकृति प्रदान गरेको थियो । साथै पूर्व सभामुख एवम् संविधान सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गर्दै आज आइतबारका लागि अर्काे बैठक बस्ने गरी स्थगित गरिएकाे थियाे ।


Author

थप समाचार
x