लुम्बिनी

गौतमबुद्ध विमानस्थल बन्‍न अझै तीन महिना लाग्‍ने

बुद्ध जयन्तीमा प्रधानमन्त्रीबाट उद्घाटन गर्ने तयारी

बिक्रम खड्का |
चैत १७, २०७७ मंगलबार ८:२९ बजे

निर्माणाधीन विमानस्थल अनुगमन गर्न पुगेका मुख्यमन्त्री शंकर पोखरेल । तस्बिर : विक्रम खड्का

बुटवल : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण सम्पन्न गर्न अझै तीन महिना लाग्ने भएको छ । यसअघि यो विमानस्थल प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाखमा उद्घाटन गर्ने भनिएको थियो । 

खासगरी विमानस्थलको उपकरण जडान सम्बन्धी विदेशी प्राविधिकहरु समयमा नआएका कारण निमार्ण सम्पन्न गर्न अझै तीन महिना लाग्ने भएको हो । सरकारी लक्ष्य अनुसार बैशाखमा यो विमानस्थलबाट  उडान शुरु गर्ने लक्ष्य राखिएको थियो ।


तत्काल विमानस्थल उद्घाटन सम्भव नभएपछि वुद्ध जयन्तीको अवसर पारेर जेठ १२ गतेको लागि तयारी थालिएको छ । सोहि तारतम्य मिलाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल विमानस्थलको स्थलगत निरिक्षणमा पुगेका छन् । उनले हालको अवस्था र उद्घाटनको सम्भावित मिति तय गरेर अघि बढ्ने बताएका छन् ।

प्रविधिकको अभावमा समस्या रहेको बताउँदै विदेशी र नेपाल तथा भारतकै जनशक्तिबाट अहिले ९६ प्रतिशत निर्माण सम्पन्न भएको विमानस्थल निर्माण आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए । 

अधिकारीका अनुसार आइसीबी १ तर्फ ५ प्रतिशत मात्र लाइट जडानको काम बाँकी छ । ‘अबको २ महिनामा सबै उपकरण जडान गर्न सक्छौ त्यसपछिको एक महिनामा परिक्षण उडान गरेर विमानस्थल सञ्चालन योग्य हुन्छ’ उनले भने । 

‘परिक्षण उडानको सम्झौता थाईसँग भएपनि वैकल्पिक रुपमा भारत र अष्ट्रेलियासँग गर्ने विषयमा पनि छलफल भइरहेको छ । अहिले धेरै उपकरणहरु जडान भइसकेका छन केही जडानको क्रममा छन्,’ आयोजना प्रमुख अधिकारीले भने । 

१५ जनवरी २०१५ मा सुरु भएको आयोजना एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३० दशमलव ५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी अर्थात ६ अर्ब ८२ करोडको ६ अर्व ८२ करोड ४० लाख ८६ हजार ८ सय ८४ रुपैया ३२ पैसाको लगानीमा बन्दैछ ।

निर्माणधिन आइसिबी १ स्तरको विमानस्थल चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ । यस्तै आईसिबी - २ अन्र्तगत विमानस्थलमा जडान हुने उपकरणहरुका लागि पनि झण्डै ५० करोड लगानी छ । आईसिबी–२ अन्तर्गतको काम थाइल्यान्डको एरो थाई कम्पनीले गरिरहेको छ ।

विमानस्थल निमार्णमा मुख्यमन्त्रीको चासो 

लम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरिक्षण गरेका छन । कोभिड-१९ लगायत विविध कारणले ढिलाई भएको आयोजनाको पछिल्लो समयको प्रगति बुझ्न मुख्यमन्त्री विमानस्थलको स्थलगत निरिक्षणमा पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल उद्घाटनमा चाँसो राखेको विषय चर्चामा आईरहेको बेला मुख्यमन्त्रीको विमानस्थलको स्थलगत निरीक्षणलाई चाँसोका साथ हेरिएको छ । 

मुख्यमन्त्री पोखरेलले विमानस्थलको टर्मिनल भवन, कार्गो भवन, डिभिओर, एयरपोर्ट लाइटहरुको स्थलगत निरिक्षण गरेका थिए । उनले उपकरण तीन महिनामा विमानस्थल निर्माण सम्पन्न हुनु आशावादी कुरा रहेको बताए । ‘उपकरण जडान र विदेशी प्राविधिकि आउने चुनौतिपूर्ण कार्य थियो अहिले हल भएर काम अघि बढेको छ । यो नै परियोजना सम्पन्न गर्ने बलियो अधार हो,’ उनले भने । 

मुख्यमन्त्री पोखरेलले मूलुकको गौरवको आयोजनाकै रुपमा रहेको विमानस्थललाई सरकारले एक्सटेन्सन गरी अगाडि बनाउने र अन्तर्राराष्ट्रिय स्तरमा अपग्रेड गर्दै नेपालकै महत्वपूर्ण विमानस्थलको रुपमा स्थापित हुने बताए ।  

‘समयमा सञ्चालन गर्न कुरामा परिक्षण उडानको खाँचो छ, नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयले छिटो व्यवस्थापन गरे यही आर्थिक वर्षमा विमानस्थलमा अन्तर्राष्ट्रिय जहाज उडान अवतरणको अवसर प्राप्त गर्ने छ,’ उनले भने । 

प्रदेश सरकारले निर्माणको क्रममा आवश्यक निर्माण सामाग्री पहिलैदेखि नै सहजीकरण गर्दै आएको र अहिले पनि एप्रोच सडक निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । विदेशी निमार्ण कम्पनीको आलटाल, कोभिड-१९ को असर तथा बेलाबेलामा निमार्ण सामग्रीको अभावका कारण विमानस्थल निमार्णको समय अवधी ४ पटक थपिएको छ । 
 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x