लुम्बिनी

सुरक्षाको माग गर्दै लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकहरू धर्नामा

बिक्रम खड्का |
पुस १६, २०७७ बिहीबार १४:३१ बजे

बुटवल : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अस्पतालमा धर्ना दिएका छन् । अस्पतालको आकस्मिक विभागमा कार्यरत चिकित्सक तथा कर्मचारीमाथि बिरामीका कुरुवाले हातपात गरेको भन्दै उनीहरू धर्नामा उत्रिएका हुन् । 

गत पुष १० गते राति ११ बजे बिरामीको उपचारको क्रममा माधक पदार्थ सेवन गरेका बिरामीका कुरुवा अनुराग रसाईलीले ड्यूटीमा रहेका १ जना चिकित्सकलाई हातपात गरेको र ३ जना स्वास्थ्यकर्मीलाई अपशब्द बोलेको डा.राजेन्द्रबहादुर क्षेत्रीले दाबी गरे ।  बिरामीको अवस्था जटिल रहेको कुरुवालाई जानकारी दिँदा डाक्टरमाथि हातपात भएको क्षेत्रीको भनाइ छ । 


डाक्टरलाई हातपात गर्ने कुरुवालाई कारबाहीको माग राख्दै अस्पताल प्रशासनमा गएको र प्रशासनले प्रहरीमा उजुरी दिए पनि कारबाही प्रक्रियाअघि नबढ्दा आफूहरू बाध्य भएर आन्दोलित हुनु परेको उनले बताए । चिकित्सकमाथि हुने दुर्व्यवहार तथा कुटपिट आफूहरूलाई मान्य नभएको र हातपात गर्नेमाथि कानूनी कारबाही हुनु पर्ने डाक्टरले माग राखेका छन् । अस्पतालमा आएका बिरामीलाई सञ्चो बनाउने स्वास्थ्यकर्मीको लक्ष्य हुने र  कुरुवा संवेदनशिल नबन्दा स्वास्थ्यकर्मी , डाक्टरमाथि हुने अपमान, हातपातबिरुद्ध आफूहरूले धर्ना दिएको स्वास्थ्यकर्मी राजेन्द्र राईले बताए । 

डाक्टरमाथि हातपात गर्ने कुरुवालाई कानूनी कारबाही नहुँदासम्म धर्ना जारी रहने उनको भनाइ छ । बिहीबार पहिलो दिन आकस्मिक विभागमा काम गर्ने डाक्टर कर्मचारीगरी ५० जनाले धर्ना दिएका छन् । मागप्रति सुनुवाइ नभए आन्दोलन र दवाव कार्यक्रमलाई बढाउदै लैजाने चिकित्सकहरूले बताएका छन् । उता ईलाका प्रहरी कार्यालयले भने घटनाको विस्कृत अध्यययन हुन बाँकी रहेको जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालयका डिएसपी प्रितमसिंह राठौरले आवश्यक कारवाहीका लागि भनेर अस्पतालको पत्र आए पनि त्यसवाहेक विस्तृत विवरण भने नआएको बताए । उनले पीडित पक्षलाई बोलाएको र आएपछि थपकुरा अघि बढ्ने बताए । प्रहरीले मिलापत्रमा जोड दिएको स्वाथ्यकर्मीहरूको आरोप रहेको छ ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x