कर्णाली

बजेट निर्माणमा अर्थमन्त्रीलाई दबाब दिने कर्मचारीलाई कारबाही

इकागज |
असार ५, २०८० मंगलबार १७:४० बजे

सुर्खेत- कर्णाली प्रदेश योजना आयोगले बजेट निर्माणका क्रममा बिचौलियामार्फत अर्थमन्त्रीलाई दबाब दिने कर्मचारीलाई कारबाही गरेको दाबी गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै कर्मचारीलाई कारबाही गरेको जानकारी दिएको हाे । तर, कारबाही गरेका कर्मचारीहरूको विषयमा भने आयोगले खुलाएन ।

योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले आयोगको मुख्य भूमिकामा रहेका कुनै पनि कर्मचारीले बजेट बनाउने क्रममा अर्थमन्त्रीलाई दबाब नदिएको पनि प्रस्ट पारेका छन् । 


‘आयोगमा हालसम्म प्राप्त सूचना तथा प्रमाण अनुसार मुख्य भूमिकामा नरहेका कुनै कर्मचारीले माननीय मन्त्रीज्यूलाई दबाब र प्रभावमा पार्न खोजेको देखिएको छ,’ आयोगद्वारा प्रकाशित प्रेस विज्ञप्‍तिमा भनिएको छ । साथै निज कर्मचारीले दिएका अभिव्यक्ति र संवादहरू आयोगको आधिकारिक नभई निज कर्मचारीको नितान्त व्यक्तिगत सोच र धारणाको उपज मात्र भएको बताएको छ ।

‘आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्रीज्यूको अभिव्यक्ति र जिम्मेवार रहेका कर्मचारीलाई कानुन बमोजिम कारबाही गरिसकिएको ब्यहोरा जानकारीका लागि अनुरोध छ,’ आयोगले भनेको छ ।

यसअघि पत्रकार सम्मेलनमा अर्थमन्त्री बेदराज सिंहले आयोगका मान्छेबाट बजेट निर्माणका क्रममा दबाब, आफ्नो ठाउँमा योजना पार्न बार्गेनिङ भएको बताएका थिए ।


Author

थप समाचार
x