समाज

सडकमै पार्किङ गर्नुपर्ने बाध्यता

टीकापुरको नमुना बसपार्क : हस्तान्तरण भएको दुई वर्ष पुग्नै लाग्दा पनि सञ्चालनमा आएन

दीपक उपाध्याय |
असार २२, २०७९ बुधबार १०:२२ बजे

धनगढी - टीकापुर नगरपालिका–१ मा निर्मित बसपार्क हस्तान्तरण भएको झण्डै दुई वर्ष बित्नैलाग्दा पनि सञ्चालनमा आउन सकेको छैन। सुदूरपश्चिमकै नमुना मानिएको उक्त बसपार्क २०७७ भाद्र ३ गते टीकापुर नगरपालिकालाई निर्माण कम्पनीले हस्तान्तरण गरेको थियो । बसपार्क सञ्चालनमा नआउँदा सवारी साधन सडकमै पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ।


अहिले सडकमै सवारीसाधन पार्किङ हुँदा दुर्घटनाको जोखिम समेत बढेको स्थानीयहरू बताउँछन् । टीकापुरबाट अहिले दिनहुँ झण्डै दुई सयको संख्यामा बस सञ्चालनमा छन्। यहाँबाट १५/१५ मिनेटको फरकमा धनगढीसम्म बससेवा सञ्चालनमा छ। यसका साथै नेपालगञ्ज, बुटवल, सुर्खेत लगायतका ठाउँमा समेत दिवासेवाका बस छुट्ने गरेका छन्। 

सुदूरपश्चिमका पहाडी जिल्ला र काठमाडौंसम्मका लागि दिनहुँ दर्जन बढी रात्रि बस समेत सञ्चालन हुँदै आएका छन्। यी सबै दिवा तथा रात्रिकालीन सेवाका बसहरू सडकमै पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ।

जमरा पुलदेखि बसपार्कसम्म निर्माणाधिन छ लेन सडकमै बस पार्किङ गर्नु परेका कारण दुर्घटनाको जोखिम समेत बढेको सुन्दर सुदूरपश्चिम बस व्यवसायी समितिका टिकापुर इन्चार्ज भरत रावलले बताए। 

टीकापुर नगरपालिकाका मेयर रामलाल डगौराथारूले बसपार्कको टेण्डर भैसकेको बताउदै छिट्टै सञ्चालनमा आउने बताए । उनले आफू मेयरमा निर्वाचित भैसकेपछि बसपार्क संचालनका विषयमा गम्भीर रहेको बताउदै पहिलो काम नै उक्त बसपार्क कसरी छिटो भन्दा छिटो सञ्चालन गर्न सकिन्छ भनेर लागि परेको बताए । 

शहरी विकास तथा भवन निर्माण विभाग संघीय कार्यान्वयन एकाइ धनगढीको ८ करोड २८ लाखको लागतमा निर्माण कम्पनी राजेन्द्र रोयल जेभीले २०७७ भदौ ३ गते निर्माण सम्पन्न गरि टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

यता हस्तान्तरण भएको लामोसमयसम्म सञ्चालनमा नआउँदा बसपार्क भने जिर्ण बनेको छ । यात्रु प्रतीक्षालय, टिकट काउन्टर, पार्किङ गर्ने स्थानहरूमा लेउ जमेको छ भने भवनमा लगाइएको रंगसमेत खुइलिएको छ ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x