समाज

कोभिड-१९ जोखिम

विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयलाई चर्को दबाब

स्थानीय तह धमाधम विद्यालय बन्द गर्दै

विष्णु विश्‍वकर्मा |
बैशाख ३, २०७८ शुक्रबार ८:१९ बजे

काठमाडौँ : ‘सरकारले निर्णय गरोस/नगरोस, प्याब्सनले स्कुल बन्द गरोस/नगरोस- हामीचाहिँ आजदेखि छोरालाई स्कुल नपठाउने निर्णयमा पुग्यौं । मिले अनलाइनमा, नमिले घरमा आफैं पढ्ला । परीक्षा दिन नपाए अर्को वर्ष ५ कक्षा पास गर्ला’ सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पत्रकार लेलिन बन्जाडेले लेखेका छन्, ‘यस्तो स्वाँठ सरकारको भर पर्ने हो भने हातमा पछुतोबाहेक अरू विकल्प रहन्न ।’

पत्रकार बन्जाडेको यो पोस्ट फेसबुक र ट्वीटरमा भाइरल छ । खासगरी विद्यालय र कोभिड-१९ मा आफ्ना छोराछोरीप्रति चिन्तित बनेका धेरै अभिभावकले रिट्वीट गर्दै अब विद्यालय बन्द गर्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । 


आइतबारदेखि नै विद्यालय बन्द गर्नुपर्ने आवाज उठेको थियो । सोमबार शिक्षा मन्त्रालयले सिंहदरबारमा सरोकारवालासँग छलफल गर्‍यो । त्यतिबेलाको निष्कर्ष थियो, ‘तत्काल विद्यालय बन्द नगर्ने । आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने ।’ 

तर शुक्रबारसम्मको अवस्था हेर्दा शिक्षा मन्त्रालयलाई विद्यालय बन्द गर्न चौतर्फी दबाब परेको छ । स्वास्थ्य मन्त्रालयले तीन हप्तादेखि नै विद्यालय बन्द गर्न ताकेता गरिरहेको छ । कोभिड १९ को नयाँ भेरियन्ट निकै जोखिमपूर्ण भएकाले विद्यालय बन्द गर्नुपर्ने निष्कर्ष स्वास्थ्य मन्त्रालयको छ ।

काठमाडौँ उपत्यका सबैभन्दा बढी जोखिममा रहेकाले विद्यालय बन्द गर्नुको विकल्प नरहेको सुरुदेखि नै स्वास्थ्य मन्त्रालयको निष्कर्ष थियो/छ । सरुवा रोग विज्ञ संक्रमण रोक्न विद्यालय बन्द गर्नुको विकल्प नरहेको बताइरहेका छन् । यस्तो बेला आफूसँग नभएको अधिकार प्रयोग गर्न शिक्षा मन्त्रालयलाई हम्मेहम्मे परिरहेको छ ।

त्यसमाथि जतिबेला पनि अवस्थाको राम्रोसँग मूल्यांकन नगरी विद्यालय बन्द गर्ने प्रवृत्तिले शिक्षामन्त्री र कर्मचारी आलोचित छन् । र, सबैभन्दा महत्वपूर्ण कुरा विद्यालय बन्द गर्ने अधिकार मन्त्रालयलाई छैन । स्थानीय तहका जनप्रतिनिधिसँग विद्यालय बन्द गर्न आह्वान मात्रै गर्न सक्छ ।

स्थानीय तह धमाधम विद्यालय बन्द गर्दै 

यो समाचार तयार पार्दासम्म विभिन्न स्थानीय तहले विद्यालय बन्द गर्दै गएका छन् । बाँकेमा स्कुले बालबालिकामा पनि संक्रमण फैलिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले एकसाता विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै वीरगञ्ज महानगरपालिकाले बैशाख २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । परीक्षा सम्पन्न गरेपश्चात विद्यालय बन्द गर्ने महानगरपालिकाको शिक्षा शाखाको निर्णय छ । काठमाडौँको वृहस्पति सदनले पनि एक हप्ताका लागि विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।

यस्तै निजी विद्यालय सञ्चालकहरुको संस्था विद्यालय बन्द नगर्न भनिरहेका बेला प्याब्सन रुपन्देहीले एक हप्ता विद्यालय बन्द गर्ने घोषणा गरेको छ । यसबाहेक अरु स्थानीय तहले पनि विद्यालय बन्द गर्ने क्रम तीव्र पारेका छन् । 

संक्रमण बढ्दै गएपछि माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र कांग्रेस निकट विद्यार्थी भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विद्यालय बन्द गर्न आह्वान गरेका छन् । यस्तै राष्ट्रिय अभिभावक महासंघले पनि विद्यालय बन्द गर्न आह्वान गरेको छ । 

तर अहिलेसम्म शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने औपचारिक सूचना जारी गरिसकेको छैन । चौतर्फी दबाब बढेपछि शिक्षा विभागले सूचना जारी गरेर विद्यालय बन्दका लागि आह्वान गर्ने तयारी गरेको छ ।


Author

थप समाचार
x