समाज

नेपाल-चीन सीमा विवादबारे स्थलगत अनुगमन टोलीको 'रिपोर्ट'

पुष्पराज आचार्य |
कात्तिक २७, २०७७ बिहीबार ६:३३ बजे

काठमाडौं : चीन सरकारको मुखपत्र ‘ग्लोबल टाइम्स’ले नेपाल-चीन सीमा विवादलाई चीन विरोधी गतिविधिको संज्ञा दिदैँ समाचार प्रकाशन गरेको छ । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीलाई इंगित गर्दै उनी भारतीय र पश्चिमा सञ्चारमाध्यममा जानकारी पठाउन सक्रिय रहेको आरोप समेत लगाइएको छ ।


चीनसँगको सीमा विवादका विषयमा संघीय सरकारको रहस्यमय मौनताका बीच प्रदेशसभामा प्रतिपक्षी दलका नेता शाहीलाई आरोपित गर्दै नेपाली कांग्रेसलाई भारत समर्थित राजनीतिक शक्ति भनिएको छ । शाहीको टोलीले नेपाल चीन सीमा विवादका सम्बन्धमा प्रतिवेदन तयार गर्नुका साथै छानबिनका लागि प्रधानमन्त्रीलाई गत महिना ज्ञापनपत्र बुझाइसकेको छ ।

सीमा विवादबारे सरकारले चीन सरकारलाई औपचारिक पत्राचार नगर्दा चिनियाँ सञ्चारमाध्यम मानमर्दन र ‘प्रोपोगाण्डा’मा उत्रेको भन्दै शाहीले यसमा दुःख व्यक्त गरे । विवादित भनिएको उक्त सीमा क्षेत्रमा ११ दिन लामो स्थलगत अनुगमन गरेका शाहीले इकागजलाई आफ्नो स्थलगत अध्ययनबारे जानकारी गराएका छन् ।

चीनबाट नेपाली भूभाग मिचिएको खबर सबैभन्दा पहिले स्थानीय जनप्रतिनिधिहरुले गरेका थिए । स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवालाको टोलीले उक्त सीमा क्षेत्रको अनुगमन गरेर जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा रिपोर्टीङ गरेको थियो । स्थानीय सरकार जिल्ला प्रशासन कार्यालय हुँदै प्रदेश सरकार, प्रदेश सभामा पनि यसबारे जानकारी भयो । त्यसपछि शाहीको टोली अध्ययनका लागि उक्त क्षेत्रमा पुगेको हो । असोज ७ मा परराष्ट्र मन्त्रालयले जारी  गरेको विज्ञप्तिमा लोलुङजोङ्ग क्षेत्रमा चीनले भवन बनाएको भूभाग नेपालको नभएको भन्दै चीनसँग कुनै पनि सीमा विवाद नभएको उल्लेख गरेको थियो ।

यसैबीचमा सरकारले यसबारे गृहमन्त्रालयमा जानकारी पठाउने सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई पनि हुलाक सेवा विभागमा सरुवा गर्‍यो । नेपाल चीन सीमाको ११ र १२ नम्बर सीमा स्तम्भबीचमा पर्ने लोलुङजोङ्ग क्षेत्रमा अहिले भवन बनेको ठाउँभन्दा दुई-अढाइ किलोमिटर उत्तरपश्चिममा २०६६ सालमा नेपालले सडक खनेको थियो । त्यतिबेला चिनियाँ सीमा सुरक्षा बल ‘गप्पुदोचा’ भनिने सानो खोल्सा पारीपट्टी बस्थ्यो । गप्पुदोचाको यो पानी ढलो नै नेपाल र चीन सरकारले सन् १९८२ मा अनुमोदन गरेको सीमा नक्सा भएको उक्त टोलीले ठहर गरेको छ ।

२०७२ सालमा चीनले हुम्लाको नाम्खा गाउँपालिका-६, लाप्चा भञ्ज्याङमा अहिले ९ ओटा भवन बनाएको स्थान नजिकै एउटा भवन बनायो । ‘स्थानीयहरुले सोधपुछ गर्दा उनीहरुले पशु क्वारेन्टीन बनाएको र दुवै देशका चौंरीका लागि क्वारेन्टाइनका लागि उपयोग गर्न सकिने भनेपछि यसमा त्यतिबेला धेरै विवाद भएन,’ शाहीले भने ।

यसवर्ष साउन महिनामा स्थानीयहरुले उक्त क्षेत्रमा पहिले बनाएको भवनभन्दा अझै वर नेपालतर्फ चीनले भवन निर्माण गरेको देखेपछि सोधीखोजी शुरु भएको हो । परराष्ट्र मन्त्रालयले भने आफ्नो विज्ञप्तिमा उक्त क्षेत्रमा ‘नेपाल र चीनबीचको ११ र १२ नम्बर सीमा स्तम्भ बीच सन् २०१६ मा पनि उक्त ठाउँमा बनेको भवनका विषयमा सवाल उठेको र अन्तर मन्त्रलाय टोलीले अनुगमन गरी सल्टाएको’ उल्लेख गरेको छ । यद्यपि शाहीको टोलीमा सम्मिलित अनुगमन टोली यो मान्न तयार छैनन् ।

'कांग्रेस नेता शाहीले फैलाएका थिए नेपाल-चीन सीमा स्तम्भ हराएको खबर'

लिमी भ्याली हुँदै न्यालु ला (पास) चीन (तिब्बत) तर्फ जान्छ । चीनले अहिले संरचना निर्माण गरेको लाप्चा भञ्ज्याङबाट २ किमी टाढा कैलाश मानसरोवर दर्शन गर्ने स्थान छ । अहिले उक्त क्षेत्रमा प्रवेशमा चीनले प्रतिबन्ध लगाएको छ । यो क्षेत्र समुद्र सतहदेखि पाँच हजार मिटर उचाइमा पर्छ । लिमीका बुढापाकाले पनि उक्त क्षेत्र नेपालको भएको बताएका छन् ।

शाहीले २०६६ सालमा नेपालले सडक निर्माण गर्दा ‘गप्पुदोचा’ पारीमात्र चिनियाँ सीमा सुरक्षा बल बस्ने गरेकोमा उक्त क्षेत्रबाट झण्डै दुई-अढाइ किलोमिटर वारी (नेपालतर्फ) भवन निर्माण गर्दा पनि संघीय सरकारले नापी र सीमा विज्ञहरु खटाउने र चीन सरकारलाई यसबारेमा जानकारी समेत नगराएको र सीमाका नागरिकहरुको आवाज समेत नसुनेको आरोप लगाए । ‘चिनियाँ सीमा समाप्त भएपछि नेपालभित्र ३० किलोमिटर दूरीसम्म पनि नेपाली भूभागमा चिनियाँ समय (टाइम जोन) देखाउँछ,’ शाही भन्छन्, ‘सीमा समाप्त भएपछि अर्को देशको भूभागलाई समेत आफ्नो टाइम जोनमा राख्न पाइँदैन ।’

अर्कोतर्फ चीनले पुरानो सीमा स्तम्भ नासेर एक पक्षीय रुपमा १२ नम्बर सीमा स्तम्भ निर्माण गरेको उनले बताए । उक्त टोलीले सीमा स्तम्भ भत्काएको पुराना अवशेषहरु सोही ठाउँमा फेला पारेको थियो । ‘उक्त सीमा स्तम्भ यसै वर्ष निर्माण भएको हो, एक हिउँद केटेको भए सीमा स्तम्भको कंक्रिट केही कालो देखिन्थ्यो,’ उनले भने, ‘दुई देशबीचको सीमा स्तम्भ एकतर्फी रुपमा निर्माण भएको छ । दुवै देशबीच नेपाल-चीन संयुक्त सीमा निरिक्षण कार्यदलको उपस्थितिमा मात्र पुराना स्तम्भलाई मर्मत या नयाँ बनाउनुपर्छ ।’

लिमीसहित हिल्सा र किटमा समेत सीमामा तारबार, नेपालीहरुको आवागमनमा कडाइँ, चीनतर्फको नाली पाइपमार्फत् नेपालतर्फ पठाइएको साथै दशगजा नियम पालना नगरेको शाही बताउँछन् । किट भन्ने ठाउँमा ५(१), ५(२), ६(१), ७(१) नम्बर पिल्लरहरु रहेका छन् । हिल्सामा ८, ९ र १० सीमा स्तम्भहरु रहेका छन् । ११ नम्बर स्तम्भ टाकुल्ले चुचुरोमा ५,२०२ मिटर उचाइमा छ भने १२ नम्बर सीमा स्तम्भ नाम्खा गाउँपालिका-६ लाप्चा भञ्ज्याङमा पर्छ ।

चीनले किट भन्ने ठाउँमा ५ (१), ५(२) र ६(१) सीमा स्तम्भहरु तरबार गरी आफ्नो भूभागभित्र समेटेर राखेको छ । शाहीका अनुसार, ५(२) सीमा स्तम्भ्को पुरानो स्तम्भ मासेर नयाँ सीमा स्तम्भ निर्माण गरेको छ । 'हिल्सामा सीमा स्तम्भ ९ (२) को दुई तिहाइ भाग आफ्नो तर्फपर्नेगरी सीमा स्तम्भमाथि नै सीमा गेट निर्माण भएको छ । पारीपट्टीबाट नाली ल्याएर नेपालतर्फ बगाइएको छ । यहाँ आएर हेर्ने जो कोही नेपाली मुटु चर्किन्छ,’ शाहीले भने, ‘काठमाडौंमा बसेर चीनले एक इन्च पनि भूमि मिचेको छैन भन्दै विज्ञप्ति जारी गर्ने मन्त्री/प्रधानमन्त्रीले यहीँ आएर हेर्नु राम्रो हुन्छ ।’

हिल्सामा कर्णाली पुल वारी नेपाली भूभागमा समेत नेपालीहरुलाई हिंड्न चिनियाँ सेनाले प्रतिबन्ध लगाएको छ । हिल्साको नारा पासलाई औपचारिक रुपमा नेपाल र चीनबीचको व्यापारिक नाका घोषणा गरिएको छ । कर्णालीमा निर्मित मितेरी पुलवारी नेपाली भूभागमा हिंड्डुल गर्न नेपालीलाई प्रतिबन्ध छ ।


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x