समाज

तिहारसँगै घर र वस्तुभाउ सिँगारिदै

माधुरी महतो |
कात्तिक २७, २०७७ बिहीबार ७:१३ बजे

बीरगञ्ज : नजिकिँदै गरेको तिहार पर्वसँगै तराई मधेशमा घर तथा वस्तुभाउलाई सिँगारिने क्रम सुरु भएको छ । पक्की घर हुनेले घरलाई सिँगार्न रंगरोगन गर्ने काममा जुटेका छन् भने कच्ची र फुसको घर हुनेले  छानो फेर्ने, खर र माटोले बनाइएको घरको भित्ता पहेलो, रातो, कालो माटोले लिपपोत गर्ने गर्न सुरु गरेका छन् ।

तराई मधेशमा माटोले बनाइएको घरको भित्तामा विभिन्न पेटिंग बनाउने, विभिन्न पौराणिक चित्रकला कोर्ने परम्परा रहेको छ । भित्तामा कोरिने हरेक चित्रकलाको विशेष महत्व रहेको जानकारहरु बताउँछन् । पर्सा सेढवाकी ललिता देवीले लिपपोत गरी फुसको घर पनि सजाउन भित्तामा विभिन्न  चित्रको डिजाइन बनाएर घर सुन्दर बनाइने गरेको बताइन् । बाघ ,हरिण, चराचुरुंगी, गुलावको फूल, जनावरलगायतका  आकार बनाइने गरिएको उनले बताइन् ।


भित्ता अर्थात फुसको घरको टाटी खालि तथा उदास नदेखियोस् भनेर विभिन्न रंगीन चित्र बनाइन्छ । रंगीन दिन हुने तथा अब रंगीन दिन आयो भनेर प्रतीकको रुपमा यी चित्रहरु कोरिन्छ । जीवन तथा दिनमा सधैँ रंगीन होस्, हरियाली छाओस् भनेर रंगीन चित्र बनाउने गरिएको हो ।

गाउँका महिला, पुरुष तथा बालबालिकाहरुलाई अहिले घर लिपपोत गर्न भ्याई नभ्याई छ। तराई मधेशमा अधिकाशं घर अहिले पनि माटोको बनाइएको पाइन्छ । तराई मधेशमा दीपावलीलाई सोहरइया पनि भनिन्छ । यसमा प्राय सबै घरमा गेर भनिने रंगले शुभ दीपावली लेखिनुका साथै फूल, जनावर , देवीदेवता लगायतका कलात्मक चित्र बनाउने चलनसमेत छ ।

पक्की घर हुनेले घरलाई सिंगार्न रंगरोगन गरी दीपावली मनाउने तयारी गर्ने गर्छन् । त्यस्तै चाडपर्वका बेला कच्ची घर भएका तथा फुसको घर भएकाहरुले पनि आफनो घर सानो भए पनि आकर्षक बनाउन तथा आफ्नो जीवन र दैनिकीमा खुसियाली छाएको भनेर अभिव्यक्त गर्न विभिन्न चित्रकला कोर्ने परम्परा वर्षौदेखि चल्दै आएको पर्सा वर्वाकी पुनम यादव बताउँछिन् । उनी भन्छिन्, ‘भित्ता अर्थात फुसको घरको टाटी खालि तथा उदास नदेखीयोस् भनेर विभिन्न रंगीन चित्र बनाइन्छ । रंगीन दिन हुने तथा अब रंगीन दिन आयो भनेर प्रतीकको रुपमा यी चित्रहरु कोरीन्छ । हाम्रो जीवन तथा दिनमा सधैँ रंगीन होस् हरियाली छाओस् भनेर हामी रंगीन चित्र बनाउँछौँ ।’

दीपावलीमा घर तथा गाउँकै शोभा बढाउने यो चलनलाई शुभदिनको सुरुवातको रुपमा पनि मानिदै आएको सांस्कृतिविद्हरु बताउँछन् ।  भित्तामा कोरिने विभिन्न कलात्मक चित्रकलाको तराई मधेशमा परम्परागत रुपमै विशेष महत्व रहेको तराई मधेशका सांस्कृतिक विषयका जानकार चन्द्रकिशोर बताउँछन् ।

गाउँघरमा आफ्ना घरका भित्ताहरुमा विभिन्न चित्रकला कोर्न सुरु गरे पनि गोबद्र्धन पूजापछि यसको रौनक झन् बढी देखिने उनीहरु बताउँछन् । दीपवाली तथा गाबद्र्धन पूजासागै कोरिने उक्त चित्रकलाले विवाहलगायत शुभ कार्यका लागि लगन सुरु हुने संकेतसमेत दिने गरेको सांस्कृतिविद्हरु बताउँछन् । 
 


Author

थप समाचार
x