समाज

पाँच वर्षमा जनप्रतिनिधि फेरिन्छन् तर फेरिँदैन् काठमाडौँ (फोटो फिचर)

इकागज |
पुस २, २०७९ शनिबार ११:७ बजे

काठमाडौँ- प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएको छ । अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरूबीच रस्साकस्सी छ । कुनैपनि एक दलको मात्र बहुमत नपुगेको अवस्थामा गठबन्धन गरेर सरकार बनाउने ध्याउन्नमा शीर्ष राजनीतिक दलहरू छन् ।


आम जनताले ५ वर्षका लागि देशको विकास गर्न भनेर चुनेर पठाएका जनप्रतिनिधिहरू जिल्लावासीहरूसँग भेटघाट गरेर बिस्तारै केन्द्रमा उपस्थित हुँदैछन् । अबको महिना दिनभित्र सम्भवतः देशले नयाँ सरकार पाउनेछ ।

आम जनताहरू देश विकासमा राजनीतिक दलहरूले चासो नदिँदा असन्तुष्ट देखिएको प्रमाण गत निर्वाचनले पुष्टि गरिसकेको छ । किनभने ठूला मानिएका राजनीतिक दलहरूका अगाडि नयाँ शक्तिहरूको उदय भएको छ ।

जनताले विकास चाहेका छन् त्यो पनि तिब्र गतिमा । तर राजनीतिक दल र देशको नेतृत्व जनचाहनाअनुसार अब्बल सावित हुन सकिरहेको छैन । अबको नेतृत्वले देश विकास गर्नेमा आम सर्वसाधारणहरू आशावादी छन् । तर निर्वाचनबाट जनप्रतिनिधि चुनिएर आइसक्दासमेत काठमाडौं उपत्यकाको अवस्था भने निर्वाचनअघिको भन्दा फरक देखिँदैन ।

जताततै अस्तव्यस्त देखिन्छ । भएका संरचना भत्काइएका छन् तर त्यसको व्यवस्थापन भएको छैन । विकास निर्माणका लागि पहलकदमी थाल्नु उचित त हो तर उचित व्यवस्थापन बिनाको विकास निर्माण दिगो हुन सक्दैन ।

त्यसैले पनि जनताले चाहेको व्यवस्थापनसहितको विकास निर्माणको खाँचो देखिन्छ । प्रतिनिधि सभाका उम्मेदवार चुनिएको करिव १ महिना पुग्नै लागेको छ । तर काठमाडौं उपत्यकामा अहिले पनि अस्तव्यस्त ठाउँहरू धेरै भेटिन्छन् ।

मर्मतसम्भारका लागि शुरु गरिएका ठाउँहरूमा पनि त्यत्तिकै अस्तव्यस्त छ भने काम गर्नुपर्ने ठाउँमा समेत प्रतिनिधिहरूको खासै चासो देखिँदैन । न त राम्रोसँग फोहोर व्यवस्थापन भएका छ, न त सडकका खाल्डाखुल्डी नै पुरिन थालेका छन् ।

न पार्किङको बन्दोबस्त छ, न त उपत्यका सरसफाईको काम भएको छ । एक महिनाको बीचमा काठमाडौंवासीले निर्वाचनताका जनताले राखेका माग र अपेक्षालाई जनप्रतिनिधिहरूले खासै चासो दिएको देखिँदैन् ।

आगामी दिनमा विकास निर्माणले गति लिन्छ वा यत्तिकैमा ५ वर्ष कट्छ त्यो भने हेर्न बाँकी नै छ । तर अब जनता सचेत भइसकेका छन्, अब पनि नेताहरूले जनतालाई झुटो आश्वासनहरू दिइरहने हो भने आगामी दिनमा ठूला राजनीतिक दलहरूको भविष्य धरापमा पर्ने निश्चित छ ।

तस्बिर : न्युज एजेन्सी नेपाल
 


Author

थप समाचार
x