समाज

[फोटो फिचर]

ललितपुरमा समिट अपार्टमेन्ट बनाउने क्रममा नजिकका घर भासिएपछि...

इकागज |
चैत २५, २०७९ शनिबार १४:४५ बजे

काठमाडौँ- ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय मारमा परेका छन् ।​

गएराति सो अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय ज्यानै जाने डरले भागाभाग समेत गरेका हुन् । नक्सा पास नै नगरी र आफूहरूसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरूको घर समेत भासिन पुगेको स्थानीयको भनाइ छ । उनीहरूले आफूहरूको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न पनि माग गरेका छन् । 


सो निर्माणाधीन अपार्टमेन्ट वरपरका एक तला जति घरहरू भासिएका छन् । डेरा गरेर बस्नेहरू सबै भागेको र आफूहरू पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयले बताएका छन् । अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको पनि स्थानीयको दाबी छ । गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरूलाई घरबासविहीन बनाउने पक्षलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।​

यसैबीच ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरूले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छिन् । शनिबार बिहान भासिएका घरहरूको निरीक्षण गरेपछि उनले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरिन् ।

सांसद कार्कीले उक्त विषयमा आफूले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पनि कुरा गरेको र स्थानीयलाई न्याय दिन आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । उनले स्थानीयलाई भासिएको घरमा नबस्न र सुरक्षित ठाउँमा सर्न पनि आग्रह गरिन् । त्यसका लागि आफूले पनि सकेको सहयोग गर्ने उनको भनाइ थियो ।​

अपार्टमेन्ट निर्माणका क्रममा वरपरका घरहरू भासिएपछि भागदौड गर्ने क्रममा कतिपय घाइते समेत भएका छन् । उनीहरूको उपचारको व्यवस्था र उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि आफूले पहल गर्ने सांसद कार्कीले बताइन् । सडक समेत चर्किएपछि त्यस क्षेत्रका बासिन्दा तनावग्रस्त छन् । उनीहरूले आफूहरूको बिचल्ली हुँदा पनि निर्माण कम्पनीले आफूहरूको पीडाको सुनुवाइ नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।

स्थानीयले दबाब दिएपछि सो अपार्टमेन्टको निर्माण कार्य पनि रोकिएको छ ।


Author

थप समाचार
x