समाज

मिटरब्याज पीडित र सरकारबीच पहिलो चरणको वार्ता, भाेलि फेरि हुने

इकागज |
चैत २६, २०७९ आइतबार १९:३ बजे

काठमाडौँ- ​मिटरब्याज पीडित र सरकारी टोलीबीच पहिलो चरणको वार्ता भएको छ ।

आइतबार काठमाडौँको शान्तिबाटीकामा भएको वार्ताका क्रममा मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई आफ्ना मागहरूका विषयमा जानकारी गराएका छन् । मिटरब्याज पीडितको माग सुनेपछि सरकारी टोलीले मागका बारेमा अध्ययन गर्ने र सोमबार पुन: वार्तामा बस्ने जनाएका छन् ।


वार्ताका लागि गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत नेतृत्वको टोली शान्तिबाटीका पुगेको थियो । गृहका प्रवक्ता बस्नेतले पहिलो दिन परिचयात्मक कार्यक्रम भएको र पीडितहरूको मागसहितको पत्र प्राप्त भएको जानकारी दिए । उनले सरकारको तर्फबाट ५ जनाको टोली बनेको र पीडितको वार्ता टोली १९ जनाबाट घटाउन आग्रह गरेको बताए ।

सोमबार पीडितको मागपत्रलाई आधार बनाएर गृह मन्त्रालयमा छलफल हुने सहमति भएको उनको भनाइ छ ।

त्यस्तै पीडितको तर्फबाट अवदेश कुशवाहाले सरकारले आफ्नो मागलाई गम्भीरपूर्वक सुनेपछि आगामी वार्ताले माग पूरा हुने वा नहुने टुङ्गो लाग्ने बताए ।​ उनले सरकारसँग थप छलफल र वार्ताका लागि आवश्यक सहजीकरणका साथ प्रस्तुत हुने बताए ।

चक्रवृति तथा मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै पीडितहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।


Author

थप समाचार
x