समाज

ढकमक्क अलकापुरी नगरी (फोटो फिचर)

इकागज |
बैशाख २, २०८० शनिबार ११:३६ बजे

आदिकवि भानुभक्त आचार्यले ‘अलकापुरी कान्तिपुरी नगरी’ कविता त्यसै लेखेका थिएनन् ।


उनले कान्तिपुर अर्थात अहिलेको काठमाडौँप्रति मोहित भएरै त्यो कविता लेखेका थिए । हो, त्यो कान्तिपुरले फेरि जवानीको रुप देखाएको छ ।

वसन्त ऋतुमा अलकापुरी नगरी ढकमक्क छ । धुँवाधुलो र प्रदूषण त छँदैछ तर त्यसमा वसन्त ऋतुका आगमनमा रंगीचंगी फूल र हरियालीले संघीय राजधानी काठमाडौंलाई मनमोहक बनाएको छ । काठमाडौं उपत्यकाका सडक किनारमा फुलेका फूलहरुले जो कोहीलाई पनि मोहित पार्छ । 

डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले ।
बोकी ल्यायो बकुल वनको वास मिठो हावाले ।।
डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहेँली ।
गोठालाले वनवन डुली हाल्न थाल्यो सुसेली ।।

राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको यो वैशाख कविताको अंशले काठमाडौंको वैशाखको फूलैफूलको शहरलाई चरितार्थ गर्छ । नदीका किनार, सडकका छेउ, घरका प्रवेश द्वार, मठ मन्दिर जताततै फूलैफूलले ढाकेको छ ।

वसन्त ऋतु अर्थात् वनस्पतिहरूले काँचुली फेर्ने ऋतु । शिशिर र गृष्मबीचको यो ऋतुलाई ऋतुराज पनि भनिन्छ । काठमाडौंका सडक र किनारमा सवारी र पैदलयात्रुलाई मोहित पार्दै ढकमक्क फूल फुलेका छन् ।

अधिकांश वनस्पतिहरूले पाउला फेर्ने भएकाले यो ऋतु हरियाली त हुन्छ नै ढकमक्क फुलेको फूलहरूले झनै सौन्दर्य बढाउँछ ।

वसन्त ऋतुको शुरुवात भएसँगै यतिखेर राजधानी पनि परिवर्तन भएको भान हुन्छ । सडकको वरिपरि रहेको चेरी र आरु ढकमक्क फुलेर सडकको सौन्दर्यता बढाएको छ । राजधानी काठमाडौंका सडक पेटीमा फुलेका चेरी र आरु फूलको दृश्यले कम आनन्द महसुस हुँदैन ।

सडकमा हिँड्ने यात्रु लोभ लाग्दा फूलहरुसँग रमाइरहेका हुन्छन् । काठमाडौंका सडकहरुमा यतिबेला विभिन्न प्रजातिका फूलहरु फुलेका छन् । यसले पदयात्रीलाई थप आनन्दित बनाएको छ ।

तस्बिर : न्युज एजेन्सी नेपाल


Author

थप समाचार
x