समाज

भोट हाल्न आएकालाई सातु र सर्बत

लेखराम सापकोटा |
बैशाख १०, २०८० आइतबार १३:२२ बजे

भरतपुर । आज चितवनसहित तनहुँ र बारामा उपनिर्वाचन भइरहेको छ । उपनिर्वाचनसँगै आज धार्मिक महत्त्वको अक्षय तृतीया पर्व पनि हो । हरेक वर्ष वैशाख शुक्ल पक्षको तृतीयालाई अक्षय तृतीयाको रुपमा मनाउने गरिन्छ । आजको दिन सातु र सर्बत खाने चलन छ । 

चितवनमा उपनिर्वाचन अन्तर्गत मतदान चलिरहँदा मतदानस्थल वरपर सातु र सर्बत वितरण गरिएको छ । श्री वैष्णाव महिला परिषद् चितवनले भरतपुरका विभिन्न मतदान स्थल वरपर सातु र सर्वत वितरण गरेका छन् । `अरुबेलामा चोक चौतारामा बसेर सातु र सर्बत वितरण गरेका थियौं´, परिषद्की अध्यक्ष तुलसी न्युरेले भनिन् - `आज चुनावको दिन भएकाले मतदान केन्द्र अगाडि मतदातालाई लक्षित गरेर जौको सातु र सख्खर जल वितरण गरेका छौँ । हामीले दिनभरी नै यो कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।´ परिषद्ले श्री मावि लंकू बाह्रघरे र श्री लक्ष्मी मावि धर्मचोकमा सातु र सर्बत वितरण गरेको छ । जिल्लाका अन्य मतदानस्थल अगाडि पनि विभिन्न सामाजिक संघसंस्था र व्यक्तिले पनि सर्बत र सातु खुवाएको देख्न सकिन्छ । 


आजको दिनमा गरिने दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । अक्षय तृतीयाका दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ ।

ब्रह्मा–विष्णु–महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणमा उल्लेख छ । आजको दिन वृद्धवृद्धालाई छाता र लौरो दान गर्ने चलन पनि छ ।


Author

थप समाचार
x