समाज

बुटवल इजलासमा २ हजार ३४६ मुद्दा फर्छ्यौट

इकागज |
साउन ५, २०८० शुक्रबार १५:१४ बजे

बुटवल- उच्च अदालत तुल्सीपुर, बुटवल इजलासले आर्थिक वर्ष ०७९/८० मा जम्मा ६०.३२ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । अदालतले एक वर्षको अवधिमा ६०.३२ प्रतिशत मुद्दा फर्छ्यौट भएको जानकारी गराएको हो ।

२०८० असार मसान्तसम्ममा अदालतमा परेका मुद्दाका विवरण र फर्छ्यौट भएका नभएका मुद्दाहरूको प्रगतिबारे अदालतका रजिष्ट्रार अच्युत कुइँकेलले जानकारी गराए । उच्च अदालत तुल्सीपुर, बुटवल इजलासले एक वर्षको अवधिमा २३ सय ४६ वटा मुद्दा फर्छ्यौट भएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।


२०७८/७९ मा १६ सय ५३ वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेका थिए, भने नयाँ २१ सय २२ गरी ३७ सय ७५ वटा मुद्दा मध्ये २३ सय ४६ वटा मुद्दा फर्छ्यौट भएको जानकारी गराइएको हो ।

वार्षिक फर्छ्यौट २४ सय ५४ वटा मुद्दा फर्छ्यौट गर्ने उच्च अदालत तुल्सीपुर, बुटवल इजलासको लक्ष्य भए पनि लक्ष्य पूरा हुन नसकेको रजिष्ट्रार कुइँकेलले जानकारी गराए । उनका अनुसार आर्थिक वर्ष ०७९/८० मा दर्ता भएका मुद्दामध्ये फर्छ्यौट हुन १५ सय ४३ वटा मुद्दा बाँकी रहेका छन् ।

उच्च अदालत तुल्सीपुर, बुटवल इजलासका न्यायाधीश नित्यानन्द पाण्डेयले अदालतमा मुद्दाहरूको संख्या बढेको बताए । उनले कार्यसम्पादनमा कमी नभए पनि प्रत्येक अदालतमा संख्यात्मक रूपले मुद्दाहरू बढ्दै गएको जिकिर गरे ।

उच्च अदालत तुल्सीपुर, बुटवल इजलास अन्तर्गत रूपन्देहीमा ५७.८९ प्रतिशत, अर्घाखाँचीमा ४७.७० प्रतिशत, कपिलवस्तुमा ४४ प्रतिशत, गुल्मीमा ८०.८९ प्रतिशत, पाल्पामा ७२ प्रतिशत, नवलपरासीमा ५०.५२ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् ।


Author

थप समाचार
x