समाज

दुई युवाको मृत्यु भएको विरोधमा अनेरास्ववियुको प्रदर्शन

इकागज |
पुस १३, २०८० शुक्रबार १८:१८ बजे

काठमाडौँ- रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयमा भएको प्रदर्शनका क्रममा दुई युवाको मृत्यु भएको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

शुक्रबार साँझ प्रदर्शनी मार्गमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको हो । रोजगारीका लागि आवेदन माग गर्ने युवालाई सरकारले गोली हानेको भन्दै विद्यार्थी संगठन विरोधमा उत्रिएको हो । उनीहरूले विद्यार्थीको ज्यान मार्न पाइँदैन जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए । अनेरास्ववियुका अध्यक्ष समिक बडालले युवाहरूमाथि बर्बर दमन भएको र दुई युवाले ज्यान गुमाउन पुगेको बताए ।


उनले सरकारको गलत नीतिले युवाहरू विदेशीन बाध्य भएको र विदेश गएका युवाहरूकै कारण मुलुकको अर्थतन्त्र चलेको जिकिर गरे । उनले युवाहरूको हत्याको भर्त्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरे । उनले गिरफ्तार गरिएका युवाहरूको पनि रिहाइको माग गरे ।

काठमाडौँको बालकुमारीमा इपीएस परीक्षाका लागि आन्दोलन गर्ने क्रममा प्रहरीसँगको मुठभेडमा दुई विद्यार्थीको मृत्यु भएपछि सर्वत्र सरकारको विरोध भइरहेको छ । 


Author

थप समाचार
x