समाज

प्रहरीको मिलेमतोमा राति निजी घर भत्काएको आरोप

म गेटैमा पुगेर खबर गर्दा पनि घटनास्थलमा पुग्न प्रहरीले एक घण्टा लगायो : पीडित

'पाँच सय मिटरको दूरीमा घर भत्काउँदा समेत प्रहरी मुकदर्शक बन्यो'

इकागज |
माघ १४, २०८० आइतबार २०:२४ बजे

सिरहा- सिरहाको मिर्चैया नगरपालिका-६ मा प्रहरी कार्यालयदेखि पाँच सय मिटरको दूरीमा जेसिभी लिएर रातको समयमा घर भत्काउँदा समेत प्रहरी मुकदर्शक बनेको आरोप लगाएको छ ।

प्रहरीसँगको मिलोमतोमै मिर्चैया नगरपालिका-६ का राजेशप्रसाद सिंहको घर मिर्चैया नगरपालिकाकै वडा नम्बर ५ का राजदेव कापरीसहितको समूहले रातिको समयमा जेसिभी लिएर गुण्डागर्दीशैलीमा घर भत्काएको पीडितले आरोप लगाएका हुन् ।


घर भत्काएको भन्दै आक्रोशित स्थानीयले शनिबार राति पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको मिर्चैयामा सडक जाम गरेका थिए ।

इलाका प्रहरी कार्यालय मिर्चैयादेखि पाँच सय मिटरको दूरीमा घर भत्काउँदा समेत प्रहरी मुकदर्शक बनेको भन्दै पीडितपरिवार र आक्रोशित स्थानीयहरूले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका थिए । 

जेसीभीसहित ३०/४० जनाको समूहमा आएका कापरले आफूहरूलाई कुटपिट गर्दा, घर भत्काएको र यसबारे जानकारी गराएको एक घण्टापछि प्रहरी आइपुग्नुले उनीहरूबीच मिलोमतो रहेको पीडित पक्षले आशंका गरेका छन् ।

‘रातिको समयमा जेसीभीसहित आएका समूहले घर भत्काउन थालेपछि के भएछ भनी घरबाट निस्कँदै गर्दा कुटपिट गरे । म ज्यान जोगाउँदै प्रहरीकोमा पुगे पनि प्रहरी एक घण्टाभन्दा बढी समयपछि मात्र कार्यालयबाट निस्के । घटनास्थल पुगेर पनि प्रहरीले रोकथाम गरेन,’ पीडित राजेशप्रसाद सिंहले भने ।

घटनास्थल पुगेका प्रहरीको व्यवहारले प्रहरीसँगको मिलेमतोमै घटना भएको सिंहले आरोप लगाए । उनले भने, ‘म गेटैमा पुगेर खबर गर्दा पनि एक घण्टा लगायो । घटनास्थल पुगेर पनि प्रहरीले कसैलाई रोकेन । यो सबै सेटिङमा भएको हो ।’

घर भएको जग्गाको विषयमा अदालतमा मुद्दा चल्दै आएको छ । सोही विषयमा जग्गा नापजाँचका लागि शनिबार जिल्ला अदालत सिरहाबाट अमिन आउने भनिएको थियो । तर, ३ बजे रातिकै समयमा सबै सुतिरहेको अवस्थामा राजदेवले गुण्डाशैलीका मानिसहरू ल्याएर घर भत्काइदिएको पीडित परिवारको आरोप छ । घटनामा संलग्नहरूलाई कारबाही र क्षतिपूर्तिको माग राखेर स्थानीयले चक्का जाम गरेको थियो । न्युजकारखाना  


Author

थप समाचार
x